काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले आफूले आफ्नो धर्म, कर्तव्य र दायित्व नबिर्सिएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘सत्य जाँचुन् कि आफ्नै आग्रह, आगो छादुन् कि बरफ बर्साउन्, त्यो मेरो विषय परेन । मेरो धर्म, कर्तव्य र दायित्व म भुल्न सक्दिनँ। पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन । जननेता मदन भण्डारीको यो भनाइ मेरो राजनीतिक आदर्श हो।’
बास्कोटाको प्रतिक्रिया गत बिहीबार कान्तिपुर दैनिकमा प्रकाशित अध्यक्ष ओलीको अन्तर्वार्तापछि आएको हो ।
उक्त अन्तर्वार्तामा ओलीले नेता सुरेन्द्र पाण्डे र योगेशकुमार भट्टराईको यसपटक जित्ने अवस्था नरहेको तथा बिन्दा पाण्डेको उम्मेदवारीको कुनै आधार नभएको बताएका थिए।
यसका साथै, उनले काभ्रेली नेता गोकुल बास्कोटाले कार्यकर्ता पङ्क्तिमा विभाजन ल्याएर अप्ठ्यारो स्थिति सिर्जना गरेको टिप्पणी गरेका थिए।यसै सन्दर्भमा बास्कोटाले मदन भण्डारीको राजनीतिक आदर्शलाई अहिले पनि आफूले मार्गदर्शक मानेको स्पष्ट पारेका छन्।
यसअघि एमाले उपमहासचिव योगेश भट्टराईले पनि ओलीको भनाइप्रति टिप्पणी गर्दै अहिले पार्टीलाई जिताउने प्राथमिकता भएकाले विस्तृत प्रतिक्रिया नदिने बताएका थिए। यसबारे फागुन २१ गतेको निर्वाचनपछि कुरा हुने उनले बताएका थिए ।
यस्तै नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले आफूसहितका नेताबारेमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति रोष प्रकट गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् शुक्रबा आफ्नो धारणा सार्वजनिक गरेका उनले बिहीबारको कान्तिपुर अध्यक्ष ओलीले दिएको अन्तर्वार्तामा व्यक्त भनाइप्रति असन्तुष्टि जनाएका हुन्।
भट्टराईले अहिलेको मिसन एमालेलाई जिताउने भएकाले यसबारेमा धेरै प्रतिक्रिया नदिने बताउँदै फागुन २१ को चुनावपछि कुरा उठाउने उल्लेख गरेका छन् ।
’फागुन २१ गतेसम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्नु उचित हुँदैन’, उनले भनेका छन्, ‘मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो। नो ईफ, नो बट, म विचलित वा निरास छैन ।’
अध्यक्ष ओलीको अभिव्यक्तिबाट आफू चिन्तित र दुःखी भएको भट्टराईले बताएका छन् । ‘कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लिएको होला भन्ने मलाई विश्वास छैन,’ उनले ओलीलाई जवाफ दिँदै उल्लेख गरेका छन्।







