बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लामा भएको भारी हिमपातले जनजीवन प्रभावित भएको छ भने प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। बैतडी र डडेल्धुरासहितका उच्च लेकाली क्षेत्रमा शुक्रबार रातिदेखि परेको हिमपातका कारण सवारी आवागमन ठप्प भएको हो।
बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा हिमपात भएपछि दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि नै बन्द रहेका छन्। रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी साधन चल्न नसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
उनका अनुसार हिमपातका कारण सडकसँगै विद्युत् सेवा पनि अवरुद्ध भएको छ। ‘रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छ, पुनः सञ्चालनका लागि पहल सुरु गरिएको छ,’ उनले भने।
यस्तै, डडेल्धुराको साहुखर्क र हगुल्टेललगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्गसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकादेखि बैतडीसहित दार्चुला, बझाङ, डोटी र डडेल्धुराका उच्च पहाडी तथा लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो।
यद्यपि, लामो समयदेखि वर्षा नहुँदा हिउँदे बाली सुक्ने अवस्थामा पुगेका किसान भने पहिलोपटक परेको हिउँदे वर्षा र हिमपातपछि खुसी भएका छन्। करिब चार महिनापछि वर्षा हुँदा बाली सप्रिने आशा बढेको किसानहरूको भनाइ छ। तर, हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन भने प्रभावित बनेको छ।







