काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
नक्कली (फेक) फेसबुक प्रयोग गरी नाबालिकासँग मित्रता गाँसी विभिन्न प्रलोभन, दबाब र प्रभावमा पार्दै नग्न तस्बिर तथा भिडियो माग गर्ने र ती सामग्री राखी अश्लील गतिविधि गराउन लगाएको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो।
पीडित नाबालिकाले पछि ती तस्बिर तथा भिडियो आफ्नो विद्यालयका साथी तथा आफन्तजनको सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरिएको भन्दै अभिभावकमार्फत ब्युरोमा निवेदन दिएका थिए।
आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणका क्रममा उक्त कार्यमा कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका वडा नं. १२ जुगेडा डि गाउँ बस्ने वर्ष २७ का सन्दीप चन्दको संलग्नता खुलेको प्रहरीले जनाएको छ।
इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा उनलाई कैलालीबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले बताएको छ।






