एमाले मतदान सकिन २२ घन्टा लाग्ने, यस्ता छन् ढिला हुनुका ३ कारण

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहानसम्म मतदान हुने देखिएको छ। बुधबार मतदान सुरू भएदेखि प्रतिघन्टा सय जना हाराहारीले भोट हालिरहेकाले २२६२ जना प्रतिनिधिलाई भोट हाल्न करिब २२ घन्टा लाग्ने देखिएको हो।

मतदान बुधबार बिहान सवा ९ बजेबाट सुरू भएको थियो। मतदान व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका लक्ष्मण रिमालले सबै प्रतिनिधिको मतदान सक्न बुधबार बिहान ७ बजेसम्म समय लाग्ने बताए।

उनका अनुसार मतदान ढिलाइ हुनुमा मुख्य तीन कारण छन् —

पहिलो, नेकपा एमालेले अन्तिम समय विधान संशोधन गरेर केन्द्रीय समिति र पदाधिकारी बढाएका कारण मतदानका लागि लाग्ने समय पनि बढेको रिमालले बताए।

एमालेले भदौमा भएको विधान अधिवेशनबाट पदाधिकारी संख्या १५ मा झारेको थियो। अहिले बढाएर १९ पुर्‍याएको छ। केन्द्रीय कमिटी संख्या पनि २५१ बाट बढाएर ३०१ पुर्‍याइएको छ। विधान संशोधनपछि भोटिङ मेसिनमा पहिले गरिएको सेटिङ परिवर्तन गर्नुपरेको रिमालको भनाइ छ।

दोस्रो, महाधिवेशन प्रतिनिधिहरूले अध्यक्षका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलको छुट्टाछुट्टै प्यानल अनुसार नामसूची बोकेर मतदान गरिरहेका छन्।

मतदानअघि उनीहरूले प्यानलको सूचीमा रहेको क्रमसंख्यासँग भोट रूजु गरिरहेका छन्। कतिपयले कुनै खास पदका लागि अर्को प्यानलका उम्मेदवारलाई पनि मत दिने हुँदा दुवै सूची हेर्नुपर्ने अवस्था छ। यसले पनि सोचेभन्दा बढी समय लागिरहेको मतदान व्यवस्थापमा खटिएको एमाले निर्वाचन आयोगका एक प्रतिनिधिले बताए।

तेस्रो, महाधिवेशन प्रतिनिधिहरूले यसपालि सबैलाई अनिवार्य मतदान गर्नुपर्नेछ।

विगतमा केन्द्रीय सदस्यमा उठेकामध्ये १५-२० जनालाई भोट हालेर बाँकी खाली छाड्न सकिन्थ्यो। अहिले सबैलाई मत दिनुपर्ने व्यवस्था छ। एउटा समूहमा जति जनालाई भोट हाल्नुपर्ने हो, त्यतिलाई नहालेसम्म अर्को समूहमा भोट दिन पाँइदैन। उदाहरणका लागि, कुनै समूहमा ५ जनालाई भोट हाल्नुपर्ने छ भने दुई जनालाई मात्र दिऊँ भन्न पाइँदैन। यसले पनि मतदानमा समय लागिरहेको रिमाल बताउँछन्।

यसबाहेक सर्वसम्मत हुने संख्या यसपटक निकै कम भएकाले पनि मतदानमा समय लागिरहेको छ। महाधिवेशन सुरू हुनुअघिको छलफलमा कम्तिमा ३० प्रतिशत सर्वसम्मत हुने अपेक्षा गरिएको रिमालले बताए।

एमालेमा कुनै पनि महाधिवेशन प्रतिनिधिले मतदानमा जानुअघि निर्वाचन आयोगका प्रतिनिधिले कुपन दिन्छन्। त्यो कुपनका आधारमा प्राविधिकले बटन थिचेर मतदान सुरू गराउँछन्। त्यसपछि एक जना प्रतिनिधिले झन्डै ४० मिनेटसम्म उभिएरै मत खसाल्नुपर्छ। मतदान सम्पन्न भएपछि गणनामा ३ देखि ४ घन्टा लाग्नेछ।