अङ्ग्रेजी भाषाकाे नेपाली टेलिभिजन च्यानल आइतबार उद्घाटन हुने

PSB nepal
PSB nepal

काठमाडौं । नेपालको सार्वजनिक सेवा प्रसारण (PSB) अन्तर्गत सञ्चालनमा आउने नयाँ अङ्ग्रेजी भाषाकाे टेलिभिजन च्यानल ‘एनटीभी वर्ल्ड’ आइतबार (नोभेम्बर ९) मा औपचारिक रूपमा उद्घाटन हुने भएको छ।

“विश्वसामु नेपालको दृष्टिकोण ” भन्ने नारासहित सुरु हुन लागेको यस च्यानलको उद्घाटन राष्ट्रपत‍ि रामचन्द्र पौडेलले भव्य समारोहमार्फत गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा सार्वजनिक सेवा प्रसारण (PSB) नेपालको पहिलो वार्षिकोत्सव पनि मनाइनेछ। सरकारले एक वर्ष अघि रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रशारणबाट प्रशारण गर्दै आएको छ ।

पिएसबीमार्फत नै सञ्चालन हुने एनटीभी वर्ल्ड दैनिक चार घण्टा, साँझ ७ बजेदेखि राति ११ बजेसम्म प्रसारण हुने बताइएको छ ।

डिजिटल युगको माग अनुसार, यस च्यानलले “डिजिटल फर्स्ट” नीति अपनाउँदै, बहु-मञ्चीय पत्रकारिता र ट्रान्समिडिया अभ्यासमार्फत विश्वभरका दर्शकसँग सम्बन्ध जोड्ने लक्ष्य राखेको छ।

स्थानीय दृष्टिकोणबाट तयार हुने सामग्रीले नेपाली पहिचान, कला संस्कृति, सौन्दर्य र दृष्टिकोणलाई उजागर गर्ने बताइन्छ । साथै, यसको डिजिटल प्लेटफर्महरूले विश्वका कुनै पनि कुनाबाट नेपाल र नेपालीपन देख्ने अवसर उपलब्ध गराउने प्रशारण संस्थाले बताएको छ ।

एनटीभी वर्ल्डले नेपाललाई विश्वको मञ्चमा प्रस्तुत गर्ने एउटा अध्याय आइतबार औपचारिक रुपमै शुरु गर्दैछ, ननस्टपखबर अग्रिम सफलताको शुभकामना व्यक्त गर्दछ ।