
काठमाडौं । हिमालय क्षेत्रमा सञ्चारको प्रभावकारी साझेदारीमा जोड दिँदै तेस्रो परा-हिमालय सञ्चार तथा समाजिक सङ्गोष्ठी(सम्मेलन) काठमाडौंमा सम्पन्न भएको छ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र सिचुवान स्थित युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटीसी)को स्कुल अफ पव्लिक एडमिनिस्ट्रेसनको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रममा हिमालय आसपासका देशहरुका विज्ञ, शिक्षाकर्मी, शैक्षिक संस्थाहरु, संचार संस्थाहरुले प्रभावकारी सञ्चार तथा सामाजिक विकासका लागि सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन्। दुई दिनसम्म चलेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस क्षेत्रको विकासमा विभाजन नभइ साझेदारीमा जोड दिएका छन्।
सम्मेलनमा युनिभर्सिटी अफ टेक्ससका प्रध्यापक अरविन्द सिङ्गलले हिमालय क्षेत्रका देशहरु साझा संस्कृतिले जोडिनुका साथै साझा समस्यासँग जुधिरहेको बन्दै यस क्षेत्रका देशहरुबाट सञ्चार माध्यमले साझा कथा बोल्नुपर्ने बताए। सञ्चारका प्रस्तुतीहरु समस्या समाधानका आवाज बन्नुपर्नेमा उनले जोड दिए ।
साथै, कुमाउ विश्वविद्यालयकी प्राध्यापक दीपिका पन्तले पहाडी महिलाहरु यस क्षेत्रका समावेसी आवाज भएको भन्दै पहाडी क्षेत्रका महिलाहरुको संघर्ष र उनीहरुको जीवन शैली नै यस क्षेत्रको प्रभावकारी सञ्चारको उदाहरण भएको बताइन्। उनले आधुनिकतासँगै भाषा संस्कृति लोप हुँदै गर्दा पूरानो इतिहास पनि मेटिने खतरा प्रति ।
संगोष्ठीमा भुटानको सूचना तथा मिडिया विभागका संस्थापक दाबा पेन्जोरले हिमालय आसपासका देशहरुले आफ्नो संस्कृति जोगाउँदै आधुनिक प्रविधिको अंगिकार गर्ने बताए ।
त्यस्तै, युनिभर्सिटी अफ पञ्जाबकी प्राध्यापक अविधा अस्रफले हिमालय क्षेत्र जलवायु परिवर्तनको मारमा रहेको भन्दै साझा समस्या समाधानका लागि साझा प्रयासहरु आवश्यक रहेको बताइन्। देशहरु सीमा रेखाले विभाजित भए पनि प्राक्रितिक प्रकोपहरुलाई सीमा रेखाले नछेक्ने बताउँदै उनले सञ्चारका सिग्नलहरु पनि रोकिन नहुने स्पष्ट पारिन् ।
हिमालय आसापासमा सञ्चारको साझेदारी आवश्यक रहेको बताइन्।
पान हिमालय कम्युनिकेसन रिसर्च सेन्टरका निर्देशक हान होङले हिमालय आसपासका देशहरुबीचको साझेदारी यस क्षेत्रको सामुहिक विकास शान्ति र स्थायित्वयमा योगदान पुर्याउने बताए।
पेरिफेरियल डिजिटल कम्युनिकेसन एण्ड रिजनल पव्लिक गभर्नेन्स भन्ने मुख्य नाराका साथ दुई दिन सम्म चलेको सङ्गोष्ठीमा विभिन्न ९ देशका १ सय ५० बढी विज्ञहरुको सहभागिता रहेको थियो।
सम्मेलनमा समानान्तर पाँच सत्रमा ६० कार्यपत्रहरु प्रस्तुत भएका छन्।
यसैबीच सङ्गोष्ठीकै क्रममा त्रिवि र युइएसटीसीका जनप्रशासन विभागले संयुक्त रुपमा रिसर्च सेन्टर फर डिजिटल एण्ड इन्टिलिजिन्ट पव्लिक गभर्नेन्स इन पान हिमालय रिजनको स्थापना गरेका छन्।






