अमलाको छाँयामा बनभोज खाने प्रचलन कायमै

Amala

काठमाडौं । देशका विभिन्न ठाउँमा अमलाको बोटमुनि बनभोज खाने चलन कायमै छ। विशेषगरी कात्तिक महिनामा सपरिवार अमलाको छायामा बसेर खाने प्रचलन रहिआएको पाइन्छ ।

कात्तिक महिनामा पनि शुक्ल नवमीका दिन अमलामा बनभोजको विशेष महत्व छ । कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने हिन्दूहरु विश्वास गर्दछ्न । विशेषगरी मैथिली समुदायमा यो दिन बनभोज खादा भगवान बिष्णुको सामिप्यता प्राप्त हुने र इच्छित फल प्राप्त हुने मान्यता पाइन्छ ।

कात्तिक शुक्ल नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुुख प्राप्त हुने बिश्वाससहित यसलाई इच्छा वा अक्षय नवमीसमेत भन्ने गरिएको छ । 

 यो दिन अमलाको फेदमा बनभोज खाने परम्परा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा जिवितै रहेको छ । अमलाको बोटमा भगवान् विष्णुको वास हुने भएकाले सो दिन अमलाको पूजा गरी त्यसकै छायाँमा बनभोज गर्नु पुण्यदायी मानिन्छ।

धार्मिक दृष्टिले यस कार्यले पाप नाश हुने र दीर्घायु प्राप्त हुने विश्वास रहिआएको छ।

अमलाको बोट वातावरणलाई शुद्ध राख्ने, हावा ताजा बनाउने र मानव स्वास्थ्यका लागि लाभदायी हुने आयुर्वेदका जानकारहरु बताउँछन् ।

अमलालाई सात्विक र अमर फल भनिन्छ। भगवान् विष्णुका प्रिय फलमध्येको एक भएकाले यो फललाई पूजा, प्रसाद र व्रतमा विशेष स्थान दिइन्छ। आयुर्वेदमा अमलाले शरीरलाई रोगमुक्त, मनलाई शान्त र आत्मालाई पवित्र बनाउने गुण राख्दछ भन्ने उल्लेख छ।

त्यसैले यसको छायाँमा बस्नु र भोजन गर्नु शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले पनि हितकारी मानिन्छ । यो दिन अमलाको विशेष परिकार पनि बनाइन्छ ।

यस परम्पराले सामूहिकता र मेलमिलापको सन्देश पनि दिन्छ। गाउँघरमा परिवार, साथीभाइ र समुदायका सदस्यहरू अमलाको बोटमुनि भेला भई बनभोज गर्दै गीत-संगीत, नृत्य र हाँसोठट्टासँग दिन बिताउने चलन रहेको छ।

संस्कृतिविद्हरूका भनाइमा यो चलनले प्रकृतिप्रतिको सम्मान, धार्मिक आस्था तथा पारिवारिक एवं सामाजिक एकतालाई सुदृढ बनाउँछ।