प्रहरी प्रधान कार्यालयले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा काठमाडौँमा जिम्मेवारी सम्हालेका तत्कालीन प्रहरी इन्चार्जहरूलाई उपत्यका बाहिर नजान निर्देशन दिएको छ।
जाँचबुझ आयोगबाट प्राप्त पत्रका आधारमा मुख्यालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र पठाउँदै ती इन्चार्जहरूलाई आवश्यक परे तुरुन्त उपस्थित गराउन सकिने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
आयोगले आन्दोलनका क्रममा भएका दमन र त्यसपछिका आगजनी घटनाहरू सम्बन्धी अनुसन्धान अघि बढाइरहेको छ। विशेषगरी बढी क्षति पुगेका क्षेत्रका तत्कालीन प्रहरी इन्चार्जहरूलाई बयानका लागि कुनै पनि समयमा बोलाउन सकिने भएकाले उनीहरूलाई हाल उपत्यकाभित्रै रहन अनुरोध गरिएको छ।
आयोगले आइतबारदेखि औपचारिक सोधपुछ प्रक्रिया सुरु गरेको छ। पहिलो दिन नख्खु कारागारका जेलरसँग बयान लिइएको थियो।
गत भदौ २३ गतेको आन्दोलनका क्रममा गोली प्रहारबाट २२ जनाले ज्यान गुमाएका थिए।







