नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ राजनीतिक दल–समूहबीच पार्टी एकताको उद्देश्यले १८ बुँदे सहमति भएको छ। आइतबार सम्पन्न बैठकपछि ती दलका शीर्ष नेताहरूले सहमति-पत्रमा हस्ताक्षर गरेका छन्।
सहमति-पत्रमा हस्ताक्षर गर्ने नेताहरूमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपाका महासचिव चिरन पुन, नेकपा (समाजवादी)का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा (साम्यवादी)का अध्यक्ष प्रेमबहादुर सिंह रहेका छन्।
सहमति अनुसार, एकीकृत पार्टीको मार्गदर्शन सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुनेछ भने आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ। पार्टीको नयाँ नाम तोकिएको छैन, तर चुनाव चिन्ह ‘तारा’ रहने सहमति गरिएको छ।








