प्रधान न्यायाधीशमाथि जुत्ता प्रहार, वकिललाई निलम्बन

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतमा सोमबार घटेको एक घटनापछि बार काउन्सिल अफ इन्डियाले वकिल राकेश किशोरलाई कानुनी व्यवसाय (law practice) गर्नबाट निलम्बन गरेको छ।

भारतका प्रधानन्यायाधीश (Chief Justice of India) बी. आर. गवईमाथि अदालतको कोर्ट नम्बर १ मा सुनुवाइ चलिरहेका बेला राकेश किशोरले जुत्ता प्रहार गरेको आरोप लागेको हो।

घटनालगत्तै सुरक्षाकर्मीहरूले उनलाई नियन्त्रणमा लिएर अदालत परिसरबाट बाहिर निकालेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, राकेश किशोर दिल्लीको मयूर बिहार क्षेत्रमा बसोबास गर्ने र सर्वोच्च अदालतको बार एसोसिएसनका सदस्य हुन्।

उक्त आक्रमणको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक तथ्यअनुसार, खजुराहो मन्दिर परिसरमा रहेको जावरी मन्दिरमा ७ फिट अग्लो भगवान् विष्णुको मूर्तिको पुनर्निर्माणसम्बन्धी मुद्दा खारेज गर्ने क्रममा प्रधानन्यायाधीश गवईले गरेको टिप्पणीमा असन्तुष्टि जनाउँदै किशोरले यस्तो कदम उठाएका थिए।

बार काउन्सिल अफ इन्डियाले यस्तो गैरव्यावसायिक र अदालतको मर्यादाविपरीत व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल प्रभावले किशोरको कानुनी अभ्यास अधिकार निलम्बन गर्ने निर्णय गरेको हो।