माओवादी केन्द्र आन्दोलनको भाव पक्रने पहिलो पार्टी : मंसिरमा विशेष महाधिवेशन, चुनावबाट नेतृत्व चयन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) जेन-जी आन्दोलनले उठाएको भावनाअनुसार अघि बढ्ने पहिलो राजनीतिक दल बनेको छ । पार्टीको पदाधिकारी बैठकले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय सबै कमिटी भङ्ग गर्दै आउँदो मङ्सिरमा नयाँ नेतृत्व चयनका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा आइतबार बसेको पदाधिकारी बैठकले असोज ८ गते स्थायी समिति र ९ गते केन्द्रीय समिति बैठक बस्ने, त्यसपछि सबै संरचना भङ्ग गरी आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।

निर्णय अनुसार मङ्सिरमा हुने विशेष महाधिवेशनमार्फत कार्यकर्ताबाट निर्वाचित नेतृत्व चयन गरिनेछ ।

जेन-जी आन्दोलनले दलका नेताहरू बिग्रेको र सही नेतृत्व दिन असफल भएको जनआवाज उठाएपछि माओवादी केन्द्रले कार्यकर्ताबाटै निर्वाचनमार्फत नेतृत्व चुन्ने बाटो तय गरेको हो ।

पार्टी प्रवक्ता अग्नि सापकोटाले आजको जनअपेक्षा अनुसारको पार्टी पुनर्निर्माणतर्फको यो पहल ऐतिहासिक भएको टिप्पणी गरेका छन् ।

१० वर्ष जनयुद्ध गरेर शान्ति प्रक्रियामार्फत संसदीय राजनीतिमा प्रवेश गरेको माओवादी केन्द्र क्रान्तिकारी पार्टी मानिन्छ । पछिल्लो समय अन्य दल जस्तै ब्यवहार र सत्ता लिप्सामा डुबेको कारण यसलाई पनि एकै ड्याङ्को मानेर जेनजी आन्दोलनका क्रममा आक्रोश पोखिएको थियो ।

आन्दोलन अघि जेन-जीहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवार मोह र परिवारका सदस्यहरुको जीवनशैलीप्रति असन्तुष्टि जनाउदै सामाजिक सञ्जालमा विरोध जनाएका थिए । सो बिरोध टिकटक ट्रेन्डिङ्को पहिलो नै बनेको थियो ।

आन्दोलनका क्रममा पेरिस डाँडास्थित पार्टी कार्यालय र अध्यक्ष प्रचण्डको निजी आवासलाई निशाना बनाइ आक्रमण हुनुका साथै एक दर्जन नेताहरुका निजी निवासमा समेत आक्रमण भएका थिए ।

त्यस लगत्तै पार्टी उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी नेतृत्वमाथि प्रश्न उठाउदै सामाजिक सञ्जालमार्फत नेतृत्व परिवर्तनको आवाज उठाएका थिए ।

जेन-जी आन्दोलनले दलहरूलाई सच्चिने अवसर दिएको र नसच्चिने दलहरू सक्किने बिश्लेशकहरु बताउँछन् । उनीहरूले माओवादी केन्द्रको निर्णयलाई सकारात्मक बताएका छन् ।