रास्वपा नेतृ सुमना श्रेष्ठले गरिन् पार्टी परित्यागको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं पूर्वमन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा पार्टीभित्र गल्ति स्वीकार नगर्ने, आलोचनालाई दबाउने तथा मिडिया ट्रायल गर्ने प्रवृत्ति चर्किएको भन्दै असन्तुष्टि प्रकट गरेकी छन्। उनले भनिन्, “कहिल्यै गल्ति नस्विकार्ने, गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नु पर्ने अवस्था सिर्जना भएको छ। आलोचना गर्नेहरूलाई उल्टै मिडिया ट्रायलको सामना गर्नुपर्ने अवस्था आएको छ, जुन स्वीकार्य छैन।”

श्रेष्ठले आफूले लामो समयदेखि पार्टीभित्रको गलत प्रवृत्तिको विरोध गर्दै आएको तर त्यसले कुनै प्रभाव नपारेको बताइन्। उल्टै आलोचना गर्ने व्यक्तिलाई बदनाम गर्ने अभियान चलेको आरोप लगाउँदै उनले अन्ततः “I QUIT, मैले पार्टी छोडेँ” भन्दै राजीनामाको घोषणा गरेकी हुन्।

उनले नेपाली कांग्रेस, एमालेलगायत दलका तेस्रो पुस्ताका नेताहरूमाथि पनि टिप्पणी गर्दै, पुरानो पुस्ताको नेतृत्वकै कारण वर्तमान राजनीतिक परिस्थिति बिग्रिएको दाबी गरिन्। “आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुपर्छ। कि हटाउनुहोस्, कि हट्नुहोस्,” भन्दै उनले पुरानो नेतृत्वको विरुद्धमा दृढ आवाज उठाउन समय आएको बताइन्।

श्रेष्ठको पार्टी परित्यागलाई रास्वपाका लागि ठूलो धक्का मानिएको छ।