संसद विघटनको पक्षमा उभिए माओवादी केन्द्रका उपमहासचिव

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का उपमहासचिव हरिबाेल गजुरेल प्रतिनिधि सभा विघटनको पक्षमा उभिएका छन् । वर्तमान परिस्थितिलाई निकास दिनका लागि प्रतिनिधि सभा विघटन आवश्यक रहेको उनले बताएका हुन् ।

उनले प्रतिनिधि सभा विघटन आवश्यक थियोे भन्ने कुरा जनताले अनुभव गरिरहेका बताए । विघटनमा प्रक्रियागत त्रुटि भएपनि अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

‘संसद् विघटनमा प्रक्रियागत त्रुटि भए पनि परिस्थितिलाई निकास दिन यो आवश्यक भएको जनताले अनुभव गरिरहेका छन् ।’ उनले भने ।

उपमहासचिव गजुरेलले जेन–जी आन्दोलन सफल भएको भन्दै देश गम्भीर संकटमा रहेको बेला राष्ट्रपति रामचन्द्र पौडेलले देखाएकाे अडान र साहसका कारण आन्दोलन सुरक्षित रूपमा अवतरण हुन पुगेको प्रष्ट पारे । 

‘राष्ट्रपति धन्यवादका पात्र हुनुहुन्छ।’ उनले भने । उनले जेन-जीको अग्रगामी मागहरू सम्बोधन गरेर अघि बढ्नुपर्ने पनि बताए ।

माओवादी केन्द्रले भने प्रतिनिधि सभालाई संवैधानिक व्यवस्था विपरीत विघटन गरिएको भन्दै गम्भीर असहमति रहेको जनाएको छ । प्रवक्ता अग्नि सापकोटाले पदाधिकारी बैठकको हवाला दिदै एक बिज्ञप्ति जारी गरी पार्टीको असहमति प्रकट गरेका छन् ।

यता, उपमहासचिव गजुरेल भने पार्टी निर्णय बिपरित विघटनको पक्षमा उभिएका हुन् । अन्तरिम सरकारकी प्रधानमन्त्री शुशिला कार्कीको सिफारिसमा रास्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन भएको घोषणा गरिसकेका छन् ।