काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफूले पार्टी सदस्यता नविकरण गरिसकेको बिषयमा हुलहुज्जत गरी अनावश्यक विवादित बनाउन नमिल्ने बताएकी छिन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना बारेमा एमाले केन्द्रीय समितिले गरेको निर्णय ‘अपरिपक्व’ भएको भन्दै नेतृत्वले हुलहुज्जत गर्न नमिल्ने बताएकी हुन् ।
‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै होइन, मैले बोलेको पनि थिइन, सञ्चारमाध्यममा ल्याइए पछि यो कुरा बोल्न बाध्य भएको हुँ’ उनले भनिन्।
एमालेको सदस्यको रूपमा ४५ वर्ष देखी काम गरिरहेको जनाउँदै उनले फेरी पार्टी प्रति प्रतिबद्द भएको जानकारी दिइन । ‘त्यसैले पार्टीप्रतिको आशा र सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,’ उनले भनिन्।
आफ्नो सदस्यता कसैले खान नसक्ने उनको जिकिर छ । आफूलाई पदको लालसा नभएको पनि उनको भनाइ छ ।
‘म सबै साथीहरूलाई पार्टीका मूल्यहरूलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुनका लागि आग्रह गर्दछु,’ उनले भनिन् ।







