काठमाडौ । गाजाको उत्तरी क्षेत्रमा आइतबार मानवीय सहायता प्राप्त गर्न जम्मा भएका निहत्था नागरिकहरूमाथि इजरायली सेनाले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले गाजास्थित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ।
पछिल्ला केही दिनयता गाजा भोकमरीको चरम अवस्थामा पुगेको छ। खाद्य सामग्री नपुग्दा हजारौं नागरिकहरू खासगरी बालबालिका, महिला र वृद्धहरू भोककै कारण मृत्युको मुखमा पुगेका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार “सयौं नागरिकहरू शरीर सुकेर हड्डी मात्र बाँकी भएको अवस्थामा छन्, र उनीहरू भोककै कारण मरिरहेका छन् ।”
सहायता कम, भिड धेरै, सेनाको गोलीबारी
इजरायलले सहायता सामग्रीसहितका केही ट्रकलाई मात्र सीमित रूपमा गाजा प्रवेश गर्न दिएको छ। ती ट्रकहरू आएपछि सहयोगको आशामा हजारौं मानिसहरू जम्मा हुन्छन्। भिड अनियन्त्रित हुन थालेपछि इजरायली सेनाले गोली चलाउने गरेको विवरण सार्वजनिक भएका छन्।
शनिबार मात्र ३६ जना मारिए भने आइतबार थप ८५ जनाको मृत्यु भएको बताइएको छ, जुन सहायता वितरण क्रममा अहिलेसम्मकै सबैभन्दा ठूलो मानवीय क्षति हो।
भोकले थलिएका मानिसहरू ट्रकतर्फ दौडिन्छन्—गोलीको डरभन्दा पेटको कराइ बलियो देखिन्छ। तर सेनाले निहत्था नागरिकहरूमाथि गोली चलाइरहन्छ।
बालबालिकाको अवस्था भयावह
गाजामा भोककै कारण हालसम्म ७१ बालबालिकाको ज्यान गइसकेको छ भने झन्डै ६० हजार बालबालिकामा कुपोषण देखिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइतबारमात्र भोककै कारण १८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
अन्तर्राष्ट्रिय प्रयास र इजरायलको अडान
संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (UNRWA) ले इजरायललाई तीन महिनाका लागि पुग्ने खाद्यान्न गाजामा पठाउन दिन आग्रह गरेको छ। “हामीसँग खाद्यान्न छ, तर प्रवेशको अनुमति छैन,” एजेन्सीले भनेको छ।
इजरायलले भने सहायता प्रवेशलाई गम्भीरताका साथ हेरिएको र अन्तर्राष्ट्रिय समुदायसँग समन्वयमा काम भइरहेको दाबी गरेको छ। उसले गाजास्थित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका मृतक संख्या ‘बढाइचढाइ गरिएको’ बताएको छ।
युद्धविराम वार्तामा अप्ठ्यारो
कतारको मध्यस्थतामा इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता भइरहेका बेला गाजामा भइरहेका हत्या र भोकमरीले वार्तामा अन्योलता उत्पन्न गरेको छ। हमासले चेतावनी दिएको छ – “यदि भोकमरीका कारण नागरिकहरूको हत्या रोकेनन भने युद्धविरामको आशा समाप्त हुन्छ।”







