सुन्जुकी ! मनोयुद्दको मचानबाट तिमीलाई सुनाउनै पर्ने कथा हो यो । आज लम्वेतान गफ नमारी म साँने र केशरका कथा सुनाउँछु । तिमीसँग सहमत नभएको विषय के हो भने तिमी इतिहासलाई मुर्दाको कथन र चिहानघारीको यात्रा भन्छेउ, तर त्यसो हैन् । तिमीले भोगिरहेको जीवन धेरै भूईमान्छेका कथा, सपना, व्यथाका चिहानमाथि उभिएका धरहरा हुन् ।
लेखक तिनीहरुको चिच्याहट तिमीले सुन्नैपर्छ नत्र भने कुनै दिन तिमीलाई सो चिच्याहटले सुन्न बाध्य पार्नेछ, सुन्जु …।
तिमी आज जे छौ र सोच्ने अवस्थामा पुगेकी छेउ ती सवाल्ट्रानका गाथा हुन् । मलाई उसको जीवन ‘बौलाहा’ बनाउने यो घटना केशरले सुनाएको हो । केशरको पीडा नै– साँने, मलाई मस्त निदाउनै दिँदैन् भन्ने हो । सुन … त्यही घटना जस्ताको त्यस्तै कहन्छु ।…..
साँने ! अहिले पनि दिउँसो झझल्को दिन्छ, राति सपनामा ऐंठन हुन्छ । भोगिरहेको दैनिकीमा खबरदारी गर्छ । म भूमिगत हुनु पहिल्यै ऊ अल्पिसकेको थियो । अहिले यायावर, फिरन्ते र स्वप्नद्रष्टा बनेर नयाँ भूमिकामा छ कि ! अथवा सहिद भइसक्यो ! अथवा बिस्मृतिको कतै गर्भैमा छ ! भन्न सक्तिनँ ।
चालढाल देखेर गाउँले साँनेलाई बौलायो भन्दै त्यो हुनुको दोष मैलाई दिन्छन् । बौलाउने ओखती ख्वाएको भनेर बात लगाउनेको कमी छैन् । गरिब, साहारा हराएका अशक्त उसका बाउ–आमाले त अझ दोषी ठम्याएकै छन् । ओ… हो कति स्वार्थी भइयो, यो सहरले मलाई अहिले गाँजे छ ! त्यो अशक्त जोडीलाई सहर पसेपछि भेटेकै पो छैन् ।
मैले भनेजस्तै हुलियाको जनयोद्धा रुकुम, रोल्पा, जाजरकोट र कालीकोटतिर छ अरे भनेर कहिले सुनिन्थ्यो, कहिले सोलु–सल्लेरीतिर । महाउथल–पुथलकालको कुरा हो । महायात्राकालमा कम्ब्याक्ट लगाइदिने कमरेड जीतले–‘आन्दोलनमै छ होला, सपनालाई चित्रमय बनाएर धरती सजाउँदै होला,’ भनेका थिए ।
अब त कमरेड.जीत पनि रहेनन्, खबर आउने अवस्थै रहेन् । खुला भएपछि धेरैकुरा बिलाए । साँनेका प्रसंग नै बिलाए । धुईंपत्तल खोज्दा न त सास पाइयो न त लासै । मरेको र मारिएको भन्ने प्रमाण त केही छैन् । त्यतिको टाठो ठिटो कहीँकतै गुपचुप अवश्य छैन् होला । अनेकौं कुरा मनमा खेल्छन्, आफैँलाई पत्यारिंदो जवाफ भने पाउँदिन् ।
काम गर्दै सहरमा पढ्ने भनेर आएको ठिटोले मलाई ०५४ सालतिर भेटेको हो । गाउँबाट सहर छिरेको छिमेकी जिम्दारको घरेलु नोकर थियो, । पढ्नमा तिख्खर । उस्को स्वभाव, जिज्ञासा र ज्ञानको तिर्खाले मलाई कायल पारेको थियो । ट्यूसन पढने बहानामा आउँथ्यो ।
एकाएक गम्भीर भएर एक दिन सोध्यो– ‘ह्वाट् इज द रिभोलुसन सर ?’
जवाफ दिएँ, ‘सबै किसिमको शोषणको अन्त गर्न आपूmलाई बदल्ने, समाजलाई बदल्ने र संसारै फेर्ने काम । त्यही काम गर्ने मान्छेलाई क्रान्तिकारी भन्छन् ।’
त्यसबेलासम्म माओवादी जनयुद्धको चारैतर्फ चर्चा चलिरहेको थियो । छापामारका आर्दश किंवदन्ती भलादमी समाजको आतंक बन्दै गाउँबाट चोक, चोकबाट सहर र साना सहरबाट राजधानी हुँदै देशदेशान्तर फैलिसकेका थिए । गाउँ–गाउँबाट प्रहरी चौकी उठन थालेका थिए । जिम्दार, जिम्वाल, पञ्च र प्रधान नालावाला लिंदै सहर पसिरहेका थिए ।
कमैयाका भरमा खेतीपाती जिम्मा लगाएर सहर पुग्नेले गाउँका अनेकौं कथा लिएर आउँथे । साँनेको काम गर्ने घरमा पनि चर्चा चल्दोरहेछ । अझ गरिबको पिउसोलाई घराँ राखेर पढाएको र पुल्पुल्याएको भन्दै धैले जिम्दारले त प्वाक्कै मुख खोलेछ, ‘गोमन साँपलाई दुध पियाएको छस्, कुन दिन डस्छ ।’
साँनेलाई त्यस दिनदेखि बेचैनी भएछ । के सोच्यो कोनी ! त्यो दिन उसको चेहेरा धपक्क बल्यो । चिम्सा आँखा चम्किए । जिउ तनक्क तन्कायो । गम्भीर बन्यो । धेरै किताब पढिसकेको थियो । तर्कपूर्ण छलफल गर्ने भइसकेको थियो । ट्यूसन पढ्न आएपनि केही महिनैदेखि स्कूले कितावभन्दा बाहिरैकै विषय उसलाई चाख लाग्थे । जिज्ञासा त्यस्तै हुन्थे ।
दर्शन, राजनीति, इतिहासका शब्द र अर्थ बुझ्दै थियो, एक्कासी सोध्यो ‘अनि माओवादी नि !’
हाम्रो हेल–मेल, उसको चाख, रूचि र पारिवारिक अवस्थाले हिच्किचाउनु पर्ने अवस्था थिएन । खुला रहेर भूमिगत काम गर्नु त दुवैतर्फ धारिलो तरवारमै हिँड्नु झैं हुन्थ्यो । भूमिगत कमरेड घरमा आएको, बात मारेको नदेखेको हैन् । गोपनियता बचाएकै थियो । तब जिज्ञासु ठिटोलाई खुलस्तै भन्न दोमन हुने कुरै भएन् मैले भने, ‘हाम्रो समाजको प्रभुत्वशाली वर्गविरुद्धको अभियान दर्शन र आन्दोलन ।’
ऊ के, के गम्न पो थाल्यो । टोलाउँदै छानातिर नियाल्यो । र, एक्कासी उत्तेजित हुँदै सोध्यो, ‘कहाँ बस्छन् थाहा छ ?’ ‘गाउँमा होलान्, पहाडमा वा जंगलमा होलान् जहाँ वैरी पुग्दैनन् ।’ सहरमा चल्ने भाषा र मिडिया बोलीमै लोली मिलाउँदै भनिदिएँ ।त्यसपछि धेरै दिनसम्म कहीँकतै देखा परेन् । केटो बिरामी परेर घर गएकोले सबै काम छोराछोरीले गर्नपरेको भनेर जिम्दार्नी बुढीमाउले गनगन गरेको सुनिन्थ्यो । केही समयपछि टुप्लुक्क देखापर्यो ।
त्यसैदिन मेरा परममित्र ढाकाराम पाठक ‘अनल’को बर्दिया धोबनीमा हत्या भएको थियो । बोली र व्यवहार एउटै राख्ने अनल माओवादीका लागि त्यो भेगमै आदर्श थिए । खुला रहेर भूमिगत हुनुपर्दा त्यत्रो दुखान्त घटनामा न त खुलेर हृदय मिच्दै रुन सक्थेँ, न त अन्तिम दर्शन गर्न जाँनै सक्थेँ । साँनेले नै हो, बर्दियाको खबर ल्याएको । उदास देखियो ।
ऊ त्यति उत्तेजित कहिल्यै भएको थिएन । त्यतिबेलासम्म माओवादी शब्द सनातनी मानिसलाई तिलस्मी र सहरियालाई रहस्य, अपराधीलाई आतंक र निसहायलाई सहारा बनिसकेको थियो । जहाँ अन्यायविरुद्ध आन्दोलन हुन्थ्यो, त्यहाँ सत्ता माओवादी घुसपेैठ सोचिहाल्थ्यो ।
संसदीय दल राज्यका कनसुत्ले बन्थे भने भगौडा माओवादी सत्ताको कान र आँखा बन्थे । कैयौं मिडिया विकासे आवरणमा सक्रिय थिए । फुर्सद भयो कि ऊ जिज्ञासा शान्त पार्न कुनै न कुनै बाहानामा आइपुग्थ्यो । म उदासिन हुँदा पनि उसलाई पर्गेल्न भने सक्तिनथे । उसका भाषा माँझिदै र जिज्ञासा गम्भीर हुँदै थिए ।
‘मान्छेलाई शक्ति दिने, सपना देखाउने र त्यसैमा डोर्याउने केले हो ?’ जवाफ सहज थिएन् ।
उसका ओंठमाथि रौं उम्रिसकेका थिए । बलिष्ट बाजु, चौडा छाती र चम्किला आँखाले एउटा कमैयाको छोरो किशोरबाट परिपक्क युवा भइसकेको देखिन्थ्यो । हलीको छोरो न हो, । प्रतिभा पनि कस्ता ! जस्तोसुकै बार–बन्देज लगाएपनि हिमनदी पहरा फोर्दै सागरतिर हानिएकै हुन्छ । अपहेलित कुलको त्यो भेगमै पढैयामा गनिन्थ्यो । आरिसेहरू हिलोमा उम्रेको कमल भन्थे । त्यो दिनको प्रश्न झन् कडा थियो ।
‘विज्ञानको आँखिझ्यालबाट जीवन र जगतलाई नियाल्ने हो भने सबै कुरा देख्न भोग्न र अनुभूत गर्न सकिन्छ । त्यो भनेको भोक हो, त्यसैले मान्छेलाई शक्ति दिन्छ, उर्जा बन्छ’ यसरी जवाफ दिएँ ।
‘भोक ! कसरी ?’
जिज्ञासा भनेको ज्ञानको मुहान हो । जिज्ञासा आत्मिक भोक हो । हरेक विषयमा कार्य, कारण र परिणाम जोडिएका हुन्छन् । जब प्रश्नका जवाफ तिमी धर्मशास्त्रमा मात्र पाउँदैनौं तब विज्ञानमा खोज्छौ । बौद्धिक साहित्य र धर्म भिन्न हो । धार्मिक बन्न तर्क हैन् विश्वासी बन्नुपर्छ तर हरेक प्रश्न र जिज्ञासाको जवाफ भने विज्ञानमा हुन्छ । खोज्ने हिम्मत, धैर्य हुनुपर्छ । जब तिमी किन र कसरी भन्ने जिज्ञासाको सन्तुष्ट हुने जवाफ पाउँदैनौं तबसम्म त्यसको खोजीमा लागिरहन्छौ । त्यसले मान्छेलाई उद्देश्यमा हौस्याउँछ, कर्तव्यबोध गराउँछ । त्यही उर्जाले मान्छेलाई मानवमा फेरिदिन्छ । हेर ! पश्चिमा जगतमा एउटा लोकप्रिय कथा छ । तिम्रा प्रश्नका जवाफ त्यसभित्र खोजिँदा अझ बुझ्न सजिलो पर्छ कि ।’
‘सुनाउनुस् न त ।’
अहिलेको इजरायल छ नि, त्यसका मुल बासिन्दालाई यहुदी भनिन्छ । फिलिस्तिनको जेरुसेलम भनेको यहुदी, क्रिस्चियन र मुसलमान तिनै धर्मको केन्द्र हो । धेरै वर्षदेखि धर्मयुद्धको थलो । जातीय रुपमा त्यही यहुदी कुलमा जन्मेका ५ जना विदुषकको कथा हो, यो । ती विद्वान सिद्धान्त जाँचेर मात्र प्रयोग गर्थे । सोही अनुसार जीवन कर्म गर्ने उनीमध्येका इब्राहिमलाई यहुदीले, यशुलाई ख्रिस्तानले र ती दुवैलाई इस्लामले पैगम्बर मान्छ । आधुनिककालमा अरु रहे– कार्ल माक्र्स, सिगमन्ड फ्रायड र सेमुअल पी हेमिंगटन ।
‘के कस्तो थियो नि ! ती पाँचको भनाई’ ‘इब्राहिमले मानिसको उर्जा भनेको मस्तिष्कको खेल हो अर्थात बुद्धि नै मुख्य विषय भन्थे ।
दोस्रो थिए– यशु ख्रिष्ट । उनले दया अर्थात् हृदयलाई चालक शक्ति माने । तेस्रोे–कार्ल माक्र्स । उनी भन्थे– भोक अथवा पेट । चौथोमा– सिगमन्ड फ्रायड, उनी भन्थे– यौन । पाँचौ सेम्युअल पी हेमिंगटन सभ्यताबीचको टकराहट्लाई प्रमुखता दिन्थे ।’
‘तपाईलाई चाँहि के लाग्दछ ?’ ‘मलाई लाग्नु र नलाग्नुसँग केही हुँदैन । पूर्वीय दर्शनमा पनि यस्ता भनाइ सुत्रबद्ध नगरिएका हैनन् । हामी पश्चिमा पढ्न र व्यवहारमा उतार्न अभ्यस्त भएर मात्रै हो । मेरो गोरे साथीले सुनाएको कथामात्र सुनाएको हुँ । ती सबैलाई उपेक्षा गर्न नसकिए पनि मुख्य कुरा मलाई त भोकै लाग्छ । तिमीले देखेकै छौ, दुनियाँका लडाई भोकविरुद्धको संघर्ष हो ।
हुने र नहुनेबीचको खाडल र भोक हेर त ! भोको मान्छेले न त बुद्धि खियाउन सक्छ न त दया नै गर्न सक्छ न त जाति, धर्म र संस्कृति भनेर लड्न भिड्नै सक्छ । केही मान्छेले भोकलाई भकारीमा ताल्चा लगाएका छन् केही त्यही भकारी फोर्न तम्सेका छन् । जर, जोरु र जमिनको भोक कस्तो हुँदोरहेछ ! वासनाको भोक ! स्वाभिमानको भोक ! शक्तिको भोक !
यदि भोक सकियो भने कामना रहँँदैन् । त्यसभन्दा पनि सर्वे भवन्तु सुखिनको मानवताको भोक अचम्मैको छ । मान्छे अनौठो उर्जाले हाँकिएर आफैलाई, समाजलाई र दुनियाँलाई बदल्न तम्सन्छ । भोकले वर्ग संघर्ष जन्माउँछ, मान्छेलाई क्रान्तिकारी बनाउँछ । पहाडले छेक्दैन्, नदीले रोक्दैन्, मायाका घरेलु पर्खालले घेर्नै सक्दैन् । द्रष्टा र भोक्तामात्रै नभई उपदेशकबाट कर्तामा फेरिन्छ । संसारै आप्mनै घर अर्थात मानव जातिलाई सजातीमा फेरिदिन्छ ।’
किलो सेरा टुले पश्चिम नेपालमा आतंक मच्चाउँदै गर्दा साँनेसँगको त्यही नै पछिल्लो भेट बन्यो । त्यसपछि बौलायो, हरायो, अल्पियो भनेर धेरैले त्यो जिज्ञासु युवाबारे सोधे । महासमरबाट फर्केपछि उसका वृद्ध बाबा–आमाले सोध–खोज गरे । म आजसम्म नाजवाफ भएपनि विश्वस्त केमा छु भने– एक न एक दिन नयाँरुपको स्पार्टाकस बनेर हाम्रो गाउँमा आउने छ साँने । त्यसबेला मेरो पालो प्रश्नकर्ताको हुनेछ, जवाफ दिने पालो उसको । सबैको हिसाव किताव गर्ने छ, साँनेले । हिजै राति सपनीमा आएको थियो । भन्दै थियो– प्रलयको दिन अझै आएका छैनन्, सपना तुहिएका छैनन्, भोक सकिएको छैन् । जाग्… केशर जाग्… अरु हुन सकिनस् भने पनि आफनै वचन कायम गर् । कम्तीमा पनि हिजोका कुरा जस्तो त गर्… । अरु बन्न सक्दैनस् भने पनि आर्दशवादी बुर्जुवा जस्तो त बन् ।’
हो, सुन्जुकी ! त्यपछिको केशरकाे जीवन पनि फास्टका कविता जस्तो भयो अरे…,
जंगलमा दुई बाटा जान्थे ।
भिन्न भिन्नै दिशामा
मैले त्यो बाटो छाँने
जतातिर थोरै मात्र मानिस हिँड्दथे
यसैकारण फेरियो सबै कुरा … ।