ललितपुरमा पत्रकारलाई एआई, गुगल टुल्स र खोज पत्रकारिता सम्बन्धी तालिम

ललितपुर । डिजिटल मिडिया फाउन्डेशन र नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयुक्त आयोजनामा ‘खोज पत्रकारिता, डिजिटल पत्रकारिता र एआई’ विषयक तालिम सम्पन्न भएको छ।

ललितपुरस्थित हिमालयन होटलमा सम्पन्न उक्त तालिममा जिल्लाका २५ जना सक्रिय पत्रकारले सहभागिता जनाएका थिए। तालिममा प्रविधिको प्रयोग, अनलाइन स्रोतको उपयोग, खोज पत्रकारिताको प्रविधि र गुगल टुल्स सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगिता खड्काले प्रविधिको विकाससँगै पत्रकारहरुको प्राविधिक दक्षता अनिवार्य भएको धारणा राखिन्। उनले समाचार लेखनसँगै डिजिटल उपकरणको ज्ञानले पत्रकारिता कार्यलाई थप प्रभावकारी बनाउने उल्लेख गरिन्।

तालिमका प्रशिक्षक प्रवेश सुवेदी र उमेश श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), खोज पत्रकारिता, अनलाइन स्रोत र गुगल टुल्सको प्रयोगका विषयमा सहभागीहरुलाई विस्तृत जानकारी प्रदान गरे।
प्रशिक्षक सुवेदीले खोज पत्रकारिताका लागि विषय छनोटदेखि तथ्य संकलन र विश्लेषणसम्मका चरणबारे अभ्यासात्मक ज्ञान दिँदै, सूचना प्राप्तिमा गुगल टुल्सको उपयोगिता प्रस्ट्याएका थिए।
त्यसैगरी प्रशिक्षक श्रेष्ठले प्रविधिलाई सहायक साधनको रूपमा लिँदा समाचार सङ्कलन, तथ्य जाँच र सत्यापन कार्य अझ प्रभावकारी हुने उल्लेख गरे।

कार्यक्रममा इन्टरनेश्नल अलर्टकी प्रतिनिधि प्रतिष्ठा थापाले पत्रकारिताको गुणस्तर वृद्धिका लागि यस्ता तालिम सहयोगी हुने बताउँदै आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाइन्।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले डिजिटल पत्रकारिता तालिमले पत्रकारको क्षमता विकाससँगै सामाजिक रूपान्तरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। सञ्चारकर्मीहरु प्रविधिसँग कदम मिलाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

उक्त तालिम युरोपियन युनियनको आर्थिक सहयोग तथा इन्टरनेश्नल अलर्टको प्राविधिक सहकार्यमा सम्पन्न भएको हो। सहभागी पत्रकारहरुले तालिमबाट व्यवहारिक सीप र नयाँ प्रविधिको ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन्।