मेयर मिठाराम भन्छन् – मिडियाले सजिलै समाज सकारात्मक बनाउन सक्छ

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको नगर प्रमुख मिठाराम अधिकारीले राजधानीमै रहेको आफ्नो नगरपालिकालाई पत्रकार जगतले प्रोत्साहित गर्न नसकेको दुखेसो पोखेका छन् ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आयोजना गरेको “मेयरसँग पत्रकार महासंघ” कार्यक्रममा मेयर अधिकारीले बुढानिलकण्ठले गरेका राम्रा कामहरु मिडियाले नदेख्दा आफू अचम्ममा परिरहेको बताए ।

केही पनि भएन भन्ने भाष्यबाट माथि उठेर मिडियाले हिजो र आजको विकासबीच तुलना गर्दै यथार्थ सूचना दिनसके समाज सकारात्मक तर्फ जाने उनले दावी गरे । मिडियाले चाहेमा सजिलै समाजलाई सकारात्मकता तर्फ फर्काउन सक्ने उनले जिकिर गरेका छन् ।

सीमा विवाद उत्पन्न हुँदा काठमाडौ महानगरपालिकाको पक्ष नै लिएर आफ्नो पालिकालाई युट्युबरहरुले तीन महिनासम्म खेदो गरेको आरोप लगाउदै उनले कतिपय मुलधारका मिडियाले पनि एकपक्षीय भएर समाचार सस्प्रेसण गर्दा आफू र आफ्नो नगरपालिका प्रताडित हुन पुगेको गुनासो गरे ।

मिडियाले नराम्रो काममा खबरदारी र राम्रो काममा प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ ।

सो अवसरमा मेयर अधिकारीले उपत्यका विकास प्राधिकरणका एकजना नगर आयुक्तबाट आफ्नो नगरपालिकाको बिकासमा अवरोध भैरहेको पनि खुलासा गरे ।

उनले शक्तिको आडमा कर्मचारीले सिस्टमलाई बन्धक बनाइरहेका भन्दै काम नगर्ने र लामो समय एकै ठाउमा बसेर रजगज गर्ने कर्मचारीलाई मिडियाले नाङ्गेझार पार्नुपर्ने प्रष्ट पारे ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले मिडियाबारे गुनासो गर्ने अवसर र बुझ्ने वातावरण बनाइदिएको प्रति उनले  सन्तोष ब्यक्त गरे । स्थानीय सरकारको सञ्चार नीति बनाउन यो उपयोगी कार्यक्रम भएको उनको भनाइ छ ।

कार्यक्रममा उपप्रमुख अनिता लामाले पत्रकारले राम्रो गर्नेलाई पुल बनेर पार लगाउनुपर्ने र नराम्रो गर्नेलाई त्रिसुल बनेर रोक्नुपर्नेमा जोड दिएकी थिइन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले मेयरसंग पत्रकार महासंघ कार्यक्रममार्फत पत्रकारिताको संस्थागत विकाश गर्नका साथै स्थानीय सरकारलाई मिडियामैत्री र जनउत्तरदायी बनाउन समेत सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले मिडिया नकारात्मक समाचारमै केन्द्रित हुने गरेकाले सकारात्मक प्रयासहरू ओझेलमा परेकातर्फ ध्यानाकर्षण गराए ।

त्यसैगरी, स्थानीयवासी समेत रहेका वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले स्थानीय सरकार पारदर्शी, सञ्चारमैत्री, विकासमैत्री र अन्ततः जनमैत्री हुनुपर्ने धारणा राखे। जनताको समस्या हेर्ने पहिलो दायित्व स्थानीय सरकारको भएको र त्यसबाट भाग्न नपाइने उनले स्पष्ट पारे ।

कार्यक्रममा आयोजकको तर्फबाट वडापालिका डकमकका प्रधान सम्पादक डिल्ली आचार्यले स्थानीय सरकार र मिडियाको वर्तमान अवस्था र भावी सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

सहभागीहरुले त्यसैको वरिपरि रहेर अन्तरक्रिया गरेका आयोजक उपत्यका प्रदेश समितिका महासचिव एवं कार्यक्रम सञ्चालक आशिष गुरागाईले जानकारी गराए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले कार्यक्रमको औचित्य र महत्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा सहभागिहरूले स्थानीय सरकारसँग समन्वय गरेर सञ्चार नीति निर्माण, सूचनाको हकको कार्यान्वयन र विद्यालय लक्षित मिडिया सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन्।

स्थानीय सञ्चार माध्यमको संरक्षण, स्थानीय पत्रकारको क्षमता विकास र फेलोशिपमार्फत नगरपालिकाको असल अभ्यास प्रचारप्रसारमा सहभागीहरु एकमत देखिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अर्जुन पन्त, प्रेस चौतारी नेपालका वरिष्ठ नेता विश्वमणी सुवेदी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सागर पन्त, वरिष्ठ पत्रकार बालकुमार नेपाल, पत्रकार महासंघ उपत्यका प्रदेश र काठमाडौं शाखाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका साथै स्थानीय मिडियाका सम्पादकहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।

सो अवसरमा नगरपालिकाको अधिकांंश वडाध्यक्षहरु उपस्थित रहेका थिए ।