काठमाडौ । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी अब सबिना मास्केले सम्हाल्ने भएकी छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मास्केलाई निमित्त प्रबन्ध निर्देशकका रूपमा कामकाज गर्ने जिम्मा दिइएको हो।
पूर्व प्रबन्ध निर्देशक संगीता पहाडीमाथि बिलिङ प्रणालीमा अनियमितता र आर्थिक हिनामिनासम्बन्धी आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सोही कारण पहाडी निलम्बनमा परेकी हुन्। रिक्त रहेको पदमा मास्केलाई नियुक्त गरिएको हो।
सबिना मास्के यसअघि नेपाल टेलिकममा नायब प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई उत्तीर्ण गरेकी मास्केले २०४९ माघ २५ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा अस्थायी इन्जिनियरका रूपमा सेवा सुरु गरेकी थिइन्। पछि २०५१ फागुन १० गते स्थायी नियुक्ति पाइन्। उनले २०७८ माघ १८ मा नायब प्रबन्ध निर्देशक पदमा पदोन्नति प्राप्त गरेकी थिइन्।
पदभार ग्रहण गर्दै मास्केले विषम परिस्थितिमा सरकार र मन्त्रालयले आफूमा राखेको विश्वासको सम्मान गर्दै सबैको साथ र सहकार्यमा कम्पनीलाई थप सक्षम, पारदर्शी र प्रगतिशील बनाउने प्रतिबद्धता व्यक्त गरिन्।