काठमाडौ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनालाई मुद्दा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

सामाखुसी करिडोर अन्तर्गत ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको आरोपमा आयोगले परियारसहित अन्य पदाधिकारीहरूलाई मुद्दा हालेको हो। परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशकको जिम्मेवारीमा कार्यरत छन्।

उनीसँगै मुद्दा पर्नेको सूचीमा बोलपत्र मूल्यांकन समितिका सदस्यहरू—रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन्।

अख्तियारका अनुसार उक्त ठेक्कामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसाको प्रस्ताव पेश गरेको थियो, जुन सबैभन्दा कम लागतको थियो। तर, त्यसलाई नजरअन्दाज गर्दै २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसाको प्रस्ताव पेश गर्ने कल्पवृक्ष कोहिनूर जेभीलाई ठेक्का दिइएको थियो।

यो प्रक्रियाबाट ४ करोड ३१ लाख ७२ हजार २ सय ३७ रुपैयाँ ३२ पैसाको अनियमितता भएको ठहर गर्दै अख्तियारले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान पश्चात बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।