आज बुद्ध जयन्ती

२५६९औं बुद्ध जयन्तीमा लुम्बिनी पुगेर प्रधानमन्त्री पूजा गर्दै
२५६९औं बुद्ध जयन्तीमा लुम्बिनी पुगेर प्रधानमन्त्री पूजा गर्दै

लुम्बिनी । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती । भगवान् गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको स्मरणमा मनाइने यो दिन नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बी तथा शान्तिप्रेमीहरूले श्रद्धाका साथ मनाइरहेका छन्। लुम्बिनी, स्वयम्भू, बौद्ध, कपिलवस्तु, देवदह, नमोबुद्ध, रामग्राम लगायत स्थानमा विशेष पूजा, दीप प्रज्वलन, प्रवचन र ध्यान कार्यक्रम हुँदैछन्।

गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो। ईसा पूर्व ५६६ तिर कपिलवस्तुमा राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट जन्मिएका सिद्धार्थको जन्म पछि ७ कदम हिँडेर ‘म अहिलेसम् अन्तिम जन्म लिएको छु’ भनी चारैतर्फ दृष्टि डुलाएको जनविश्वास छ। त्यसैले उनलाई ‘साँच्चिकै भगवानका दूत’ मानिन्छ।

सिद्धार्थको जन्मको केही दिनमै आमाको निधन भएपछि उनी ममताविहीन भए पनि राजमहलको सम्पूर्ण माया र सुविधाबीच हुर्किए। तर संसारको दुःख, रोग र मृत्युलाई देखेर उनले २९ वर्षको उमेरमा महल त्याग गरे। अन्ततः भारतको बोधगयामा पीपलको वृक्षमुनि तपस्या गर्दै ज्ञान प्राप्त गरे र ‘बुद्ध’ कहलाए।

बुद्धको शिक्षाले विश्वभर करोडौं मानिसको जीवन दर्शन बदलेको छ। उनका उपदेशहरू करुणा, अहिंसा, मध्यम मार्ग, सत्य र आत्मज्ञानमा आधारित छन्। यिनै शिक्षाहरू त्रिपिटकमा सङ्ग्रहित छन् जसमा ८४ हजार ज्ञानसूत्र उल्लेख छन्। उनका प्रमुख दार्शनिक सिद्धान्त ‘प्रतित्यसमुत्पाद’ हो, जसले जीवनका सबै पक्षहरू कारण र परिणामको सम्बन्धमा बाँधिएको बताउँछ।

बुद्ध न केवल बौद्ध धर्मका संस्थापक, तर मानवताका महान् शिक्षक पनि हुन्। हिन्दू धर्मावलम्बीहरूले उनलाई भगवान् विष्णुको दशौं अवतार मान्छन् भने अन्तर्राष्ट्रिय रूपमा ‘एशियाको तारा’ भनेर सम्मान गरिन्छ।

नेपाल सरकारले बुद्ध नेपालमै जन्मेका हुन् भन्ने कुरालाई अन्तर्राष्ट्रिय रूपमा पुष्टि गर्दै प्रत्येक वर्ष बुद्ध जयन्तीमा सार्वजनिक बिदा दिँदै आएको छ। आज पनि देशभरका शिक्षण संस्था, सरकारी कार्यालय, तथा संस्थाहरू बन्द छन्। लुम्बिनी विकास कोष, पर्यटन बोर्ड तथा विभिन्न बुद्ध संस्था र संघ–संस्थाहरूले देशैभर विविध कार्यक्रमहरू आयोजना गरेका छन्।

आजको दिनले हामी सबैलाई सहिष्णुता, शान्ति र सत्यको बाटोमा लाग्न प्रेरणा दिओस् भन्ने कामना गरौं।
बुद्धम् शरणम् गच्छामि।