काठमाडौं । तनाव, चिन्ता र व्यस्त जीवनशैलीका कारण धेरै मानिस राम्रो सँग निदाउन सकिरहेका छैनन्। चिकित्सकहरूका अनुसार, राम्रो निन्द्राले मात्र हाम्रो स्वास्थ्यलाई सन्तुलनमा राख्छ ।
शारीरिक र मानसिक तन्दुरुस्ती र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँन मिठो निन्द्रा अत्यावश्यक हुन्छ ।
यदि तपाईंलाई रातभर मिठो निन्द्रा चाहिन्छ भने यी उपाय अपनाउन सकिन्छ:
१. निश्चित समयमै सुत्ने र उठ्ने बानी बसाल्नुहोस्
प्रत्येक दिन एउटै समयमा सुत्ने र उठ्ने बानीले शरीरको घडी (बायोलोजिकल क्लक) मिल्छ र सजिलै निन्द्रा लाग्न थाल्छ।
२. सुत्ने कोठा शान्त र अन्धकार बनाउनुहोस्
कोठाको बत्ति निभाउने, मोबाइल वा ल्यापटप टाढा राख्ने, अनि सकेसम्म सुत्ने कोठा शान्त राख्नु उपयुक्त हुन्छ।
३. निद्राअघि ग्याजेटबाट टाढा बस्नुहोस्
मोबाइल, टिभी वा ल्यापटपको निलो प्रकाशले निद्रा बिगार्न सक्छ। निद्राअघि किताब पढ्ने बानी भने राम्रो मानिन्छ।
४. क्याफिनयुक्त पेय पदार्थ कम गर्नुहोस्
कफी, चिया वा एनर्जी ड्रिंक जस्ता पेय पदार्थ राति सेवन नगर्नुहोस्। यसको साटो न्यानो दूध वा हर्बल टी पिउन सकिन्छ।
५. हल्का व्यायाम र ध्यान गर्नुहोस्
निद्राअघि हल्का स्ट्रेचिङ वा ध्यान (मेडिटेसन) गर्दा शरीर शान्त हुन्छ र छिटो निन्द्रा लाग्छ।
चिकित्सकहरूको भनाइमा, राम्रो निन्द्राका लागि जीवनशैलीमा सानो परिवर्तनले ठूलो प्रभाव पार्न सक्छ।
यदि यी उपायले पनि काम नगरेमा चिकित्सकको सल्लाह लिनु उत्तम हुन्छ।