ललिता साह, भक्तपुर । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले देशको समग्र युवालाई सीपसहितको उद्यमशीलतासँग जोड्न आवश्यक भएको बताएका छन्।
शनिबार राष्ट्रिय युवा परिषद् र युथ इको नेपालको साझेदारीमा परिषद्कै मुख्यालय सानोठिमीमा आयोजना गरिएको ‘युवा उद्यमशीलता सम्मेलन २०८२ तथा युवा मार्गदर्शन कार्यक्रम’मा बोल्दै उपाध्यक्ष बस्नेतले सरकारले यसतर्फ पर्याप्त ध्यान पुर्याउनुपर्ने पनि प्रष्ट पारे ।
उनका अनुसार देशका ४२ प्रतिशतभन्दा बढी युवालाई चलायमान बनाउन राज्यले हरेक सम्भव प्रयास गर्नुपर्छ। बस्नेतले भने, “देशमा हाल भइरहेको गतिविधिले नेपाली युवाको आत्मा भट्काएको अनुभूति आएको छ। त्यसलाई तोड्न युवाले विदेशमा सिकेका सीपलाई देश निर्माणमा प्रयोग गर्नुपर्छ।”
उनले थपे, “नेपाली श्रम बजारमा वर्षेनी देखिने साढे चार लाख युवालाई सरकारी जागिर दिन सक्ने क्षमता सरकारसँग छैन, त्यसैले रोजगारीका लागि उद्यमशीलता अपरिहार्य छ।” परिषद्ले ‘युथ भिजन २०२५’ को समिक्षासँगै आगामी ‘युथ भिजन २०३५’ तयार गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।
कार्यक्रममा गैरसरकारी महासंघका अध्यक्ष अर्जुन कार्कीले युवासँग शैक्षिक योग्यता मात्र नभई सीप पनि आवश्यक रहेको बताए। उनले डिजिटल सीपलाई बजारिकरण गर्न र चुनौतीहरूको सामना गर्न युवा तयार हुनुपर्ने आवश्यकता औंल्याए।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले अहिलेको समय आर्थिक तथा सामाजिक रूपान्तरणका लागि सुनौलो अवसर भएको बताए। उनले राज्यले उपलब्ध गराएका अवसरलाई उपयोग गरी देशमै आशालाग्दो भविष्य निर्माण गर्न सकिने धारणा राखे।
‘राष्ट्रको लागि २ घण्टा अभियान’का अध्यक्ष नरेश रञ्जितले अबको पुस्तामा आफ्ना विचार र श्रम र योजनाको मूल्य बुझ्ने मानसिकता विकास गर्न आवश्यक रहेको बताए।
त्यस्तै, राष्ट्रिय युवा परिषद्का बोर्ड सदस्य ललिता साह र त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक बबिन कार्कीले पनि वैदेशिक रोजगारी र अध्ययनतर्फ आकर्षणका कारण युवामा देखिएको निराशाजनक मानसिकतालाई शिक्षा, सीप र उद्यमशीलताको माध्यमबाट देशमै अवसर सिर्जना गरी सम्बोधन गर्न सकिने विचार राखे। यस्ता कार्यक्रमले युवालाई मार्गदर्शन प्राप्त हुने सफल युवा उद्यमी बेदप्रसाद खरेलले विश्वास व्यक्त गरे ।
सम्मेलनमा सूचना प्रविधिको प्रयोग गर्दै स्थानीय तहमा साना उद्यम र स्टार्टअप बिजनेसका विभिन्न नयाँ आइडिया प्रस्तुत गरिएका थिए।
आयोजक युथ इको नेपालका अध्यक्ष आकाश गजुरेलका अनुसार सो सम्मेलनमा उपत्यकाभरिका एक सयभन्दा बढी युवा उद्यमी तथा विद्यार्थीको सहभागिता रहेको थियो।
सो अवसरमा देशमा केही गर्न सकिन्न भन्ने भाष्य गलत भएको र यहीँ संभावनाका प्रसस्त ढोका खोल्न सकिने भएपनि युवाहरुले पर्याप्त पहल नगरेकोले बिदेश पलायन हुने प्रवित्ति मौलाएको प्रति चिन्ता ब्यक्त गरिएको थियो ।