सरकारले शिक्षकको आवाज नसुन्नु दुःखद्, फास्टट्र्याकबाट विधेयक ल्याउन माओवादीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले विद्यालय शिक्षा विधेयक फास्टट्र्याकबाट पारित गर्न दबाव दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि शिक्षकहरूको आवाज सुन्नको सट्टा अपमानित गरिरहेको आरोप लगाएको छ।

बुधबार पार्टी मूख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादीले शिक्षकहरूको जायज माग तुरुन्त सम्बोधन गर्न माग गरेको हो।

पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलनमा भने, “शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन्, तर प्रधानमन्त्री उहाँहरूका मागमा ध्यान दिनुको सट्टा होच्याउने व्यवहार गरिरहनुभएको छ, जसले गर्दा समस्या समाधान हुनसकेको छैन।” 

सरकारले शिक्षकको आवाज नसुन्नु दुःखद् भएको उनले बताए । संसद अधिवेशन सुरु हुने १२ गतेअघि नै सरकारले ठोस पहल गर्नुपर्ने पार्टीको मत रहेको प्रवक्ता सापकोटाले स्पष्ट पारेका छन् ।

विद्यालय शिक्षा ऐन लगयतका माग राख्दै गत चैत २० देखि देशभरका शिक्षक राजधानी केन्द्रीत आन्दोलनमा रहेका छन् । उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो सरकार कसरी उनीहरुलाई गलाउने भन्ने ध्याउन्नमा मात्र रहेको माओवादीको आरोप छ ।

यसबाहेक, लघुवित्तपीडित, सहकारीपीडित, सरकारी कर्मचारी, चिकित्सकलगायत आन्दोलनरत सबै पक्षसँग वार्ता गरी उनीहरूको माग सुन्नुपर्ने माओवादी केन्द्रको माग छ।

साथै, भारतको जम्मू–कश्मीरमा भएको आतङ्कवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेसहित पर्यटकहरुको मृत्यु भएको घटनाप्रति पनि माओवादीले खेद प्रकट गरेको छ।