भक्तपुर । भक्तपुरको पर्यटकीय नगर चाँगुनारायणको नगरकोट क्षेत्रमा पाटे बाघ पाइएको हल्लाले मानिसहरु त्रसित भएका छन् ।
बाटोमै हिड्दै गरेको बाघको तस्वीर सहित बाँस्तोला गाउँदेखि गडगडेसम्मको जंगलको यात्रामा सावधानी अपनाउन सामाजिक संजालमार्फत स्थानीयहरुले अनुरोध गरेपछि पर्यटकहरु त्रसित हुनु स्वभाविकै हो ।
नगरकोटमा पाटे बाघ देखिएको विषयमा डिभिजन वन कार्यालय भने बिश्वस्त छैन ।
“मर्निङ वाकको क्रममा पाटेबाघ देखियो भनेर स्थानीय सामुदायिक वनका एक सदस्यले पुष्टि गरेपछि त्यसलाई नपत्याउन पनि मिलेन तर, नगरकोटको वन क्षेत्रमा पाटेबाघ पाइदैन ।” डिभिजन बन कार्यालयका प्रमुख विश्व कोइरालाले बताए ।
तराई क्षेत्रमा पाइने पाटे बाघ नगरकोट क्षेत्रमा देखियो भन्ने कुराले आफू पनि अचम्ममा परेको उनले बताए । प्रमुख कोइरालाले हालसम्म यस क्षेत्रमा बाघ नदेखिएको पुष्टि गरे ।
“यहाँ चितुवा प्रसस्तै भएपनि बाघ भएको प्रमाण हालसम्म पाइएको छैन ।” उनले भने ।
तर, तस्वीरसहित पाटेबाघ देखिएको समाचार सार्वजनिक भएकाले यसलाई नजर अन्दाज गर्न नमिल्ने स्थानीय युवा ब्यवसायी लक्ष्मण दुलाल बताउँछन् । स्थानीय प्रशासन र नगरपालिकाले यसमा आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनले बताए ।
चाँगुनारायण नगरपालिकाका प्रवक्ता जनक खत्रीले भने नगरकोटमा पाटे बाघ पाइएको कुरामा सत्यता नभएको जिकिर गरे । यसले आतंक मात्र फैलाएको उनको भनाइ छ ।
यस्ता अफवाहले नगरकोट भ्रमण वर्ष-२०८२ लाई असर गर्नसक्ने भन्दै उनले चिन्ता ब्यक्त गरेका छन् ।