म्याग्दी, २० पुस । गुरिल्ला पदमार्गमा समेटिएको म्याग्दीको पर्यटकीय ठाउँ जलजला लेक प्रचारप्रसार तथा पूर्वाधारको अभावले ओझेलमा परेको छ ।
धौलागिरि गाउँपालिका–२ मा अवस्थित जलजलाको लेकबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने भए पनि प्रचारप्रसार नहुँदा पर्यटक आगमन हुन नसकेको हो ।
समुद्री सहतदेखि तीन हजार ४२० मिटरको उचाइमा समथर भूभागमा अवस्थित जलजलाको लेकबाट धौलागिरि, गुर्जा, चुरेन, पुथा, निलगिरिलगायतका दर्जनौँ हिमशृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ । जैविक विविधतायुक्त जलजला क्षेत्र सूर्योदय र हिमशृङ्खला अवलोकनका लागि उपयुक्त स्थान रहेकाले पूर्वाधार निर्माण र प्रचारप्रसार आवश्यक रहेको म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए ।
प्रचुर पर्यटकीय सम्भावना बोकेको जलजलाको लेकलाई कुमारी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छ । सडक सञ्जालदेखि टाढा रहेकाले पनि यस क्षेत्रलाई दीर्घकालीनरूपमा पर्यटक भित्र्याउने थलोका रूपमा विकास गर्नुपर्ने उपाध्यक्ष शाक्यले जानकारी दिए ।
जलजला क्षेत्र ढोरपाटन शिकार आरक्ष क्षेत्र भित्र पर्दछ । जलजलामा पदमार्ग, होटल तथा आवास गृहलगायतका पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न सकेमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन सकिने हालै जलजला पुगेर फर्कनुभएका गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)का पूर्व महासचिव एवं पर्यटन व्यवसायी राजकुमार थापाले बताए ।
“पर्यटक भित्र्याउनका लागि पदमार्गको अवस्था बुझ्न हामीले गुरिल्ला पदमार्गको फन्को मारेका हौँ, पदमार्गअन्तर्गत धेरै सम्भावनायुक्त क्षेत्र छन्, त्यसमध्ये म्याग्दीको जलजला क्षेत्र पनि प्रचुर पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेछ”, उनले भने । जलजलाको प्राकृतिक सुन्दरता नेपालका अन्य पर्यटकीय क्षेत्रको भन्दा उत्कृष्ट रहेको उनको भनाइ छ ।
यस्तो मनोरमपूर्ण प्राकृतिक वातावरणमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने गुरिल्ला पदमार्गका प्रवद्र्धक सुरेन्द्र रानाको भनाइ छ । “जलजलाबाट आँखा अगाडि नै उभिएका सेताम्मे हिमाल नियाल्दा जो कोहीलाई आनन्द दिन्छ, पर्यटक भित्र्याउन सक्ने ठूला सम्भावना अहिलेसम्म खेर गएका छन्, तत्काललाई जलजलामा सामान्य खानाखाने र बास बस्ने ठाउँको प्रबन्धमात्रै गर्न सकेमा पर्यटक आगमन बढ्छ”, रानाले भने ।
तत्कालीन सरकार र माओवादीको द्वन्द्वका कारण चर्चामा आएका द्वन्द्व प्रभावित क्षेत्रलाई समेटेर सन् २०१२ देखि गुरिल्ला पदमार्ग खुला गरेपछि म्याग्दीको बेनी हुँदै पश्चिमी व्यापारिक केन्द्र दरवाङबाट बागलुङको ढोरपाटन क्षेत्र र रुकुम हुँदै रोल्पाको सुलिचौरमा पुगेर टुंगिने यस पदमार्गलाई करिब दुई सातामा फन्को लगाउन सकिन्छ ।
द्वन्द्व प्रभावित क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न र विदेशी पर्यटकलाई जनयुद्धकालीन अवस्था, विकट बस्तीको जनजीवन र मगर तथा छन्त्याललगायतका जातजातिको संस्कृतिको रसास्वादन गराउन यस पदमार्गले सहयोग गर्ने अपेक्षा गरिएको छ । पदमार्गमा पर्ने अधिकांश बस्तीमा मगर समुदायको बाहुल्यता छ ।