हेटौंडा । नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौडाद्वारा आयोजित ‘दोस्रो नवसर्जक उत्सव’ मा उपन्यासकार केशव घिमिरेलाई ‘टिका ईश्वरी स्मृति नवसर्जक प्रतिभा सम्मान २०८१’ द्वारा सम्मानित गरिएको छ।
नयाँ तथा प्रतिभावान साहित्यकारलाई हौसला प्रदान गर्ने उद्देश्यले प्रदान गरिने यो सम्मान यस वर्ष बागमती प्रदेशबाट केशव घिमिरेलाई प्रदान गरिएको हो। प्रदेश स्तरीय छनोट प्रक्रियामा घिमिरे पहिलो स्थानमा छनोट भएका कारण उनलाई यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
समारोहमा नेपालका विभिन्न प्रदेशबाट साहित्यिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका स्रष्टाहरूलाई सम्मान गरिएको थियो। अग्रज स्रष्टाहरूको सूचीमा कोशी प्रदेशबाट चिन्तामणि निरौला, मधेश प्रदेशबाट सरोजप्रसाद शाह, बागमती प्रदेशबाट केशव घिमिरे, गण्डकी प्रदेशबाट रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट निशा पाण्डे, कर्णाली प्रदेशबाट शिवराज शाही, र सुदूरपश्चिम प्रदेशबाट सुनिल बुढा ‘कछुवा’ सम्मानित भएका छन्।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्राध्यापक डा. चुडामणि बन्धु उपस्थित थिए। उनले नवसर्जक साहित्य चौतारीले गर्दै आएको योगदानको प्रशंसा गर्दै नेपाली साहित्यको प्रवर्द्धनमा यस्ता सम्मान र पुरस्कारले ठूलो भूमिका खेल्ने बताए।
उपन्यासकार केशव घिमिरे विगत एक दशकदेखि साहित्य सिर्जनामा सक्रिय छन्। तीन वर्षअघि प्रकाशित उनको उपन्यास रुपीका पाठकमाझ चर्चित बनेको थियो। नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका घिमिरे प्रज्ञा प्रतिष्ठान, वाङ्मय प्रतिष्ठान, तथा अन्य साहित्यिक संस्थाहरूमा सक्रिय छन्।
उक्त सम्मान नवसर्जक साहित्य चौतारी नेपालका संरक्षक गोकर्ण सुवेदी र जयन्ती अर्यालको स्मृतिमा प्रदान गरिएको हो। आयोजक संस्थाले घिमिरेलाई निरन्तर सिर्जनामा लागिरहन हौसला प्रदान गर्दै उनको आगामी साहित्यिक यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।