पूर्वमन्त्री श्रेष्ठले गरे सुनकोशी दुर्घटनास्थलको अवलोकन, दुर्घटनाबारे यस्तो अनुमान

शनिबार साँझ खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गरेको जीप दुर्घटनाबारे बागमती प्रदेश सरकारका पूर्व आन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी लिएका छन् । सिन्धुलीका प्रदेश सांसद समेत रहेका श्रेष्ठ सोमबार घटनास्थल पुगी दुर्घटनाबारे जानकारी लिएका हुन् ।

दुर्घटनास्थलको अवलोकनपछि पूर्व मन्त्री श्रेष्ठले सडक विभागले बिछ्याएको चिप्सका कारण दुर्घटना भएको हुनसक्ने तर्क गरेका छन् । ”चिप्समा पुगेपछि गाडी स्वत: अलि असन्तुलित हुनेहुँदा चालक आत्तिएर इमर्जेन्सी ब्रेक लगाएको हुनसक्छ । जसको कारण गाडी असन्तुलित भई सडकबाट नदीमा खसेको हुनसक्छ ।” उनले भने ।

सशस्त्र र नेपाल प्रहरीका उद्धारकर्ताहरू, जनप्रतिनिधि र स्थानीय अगुवाहरूसँग दुर्घटनाको संभावित कारण बुझ्न खोज्दा अधिकांशको यस्तै तर्क पाएको पनि उनले बताएका छन् । हाइवेमा गाडी तीव्र गतिमा रहेको हुनसक्ने र एक्कासी चिप्स देख्दा आत्तिएर ब्रेक लगाउँदा असन्तुलित भई सुनकोशीमा खसेको हुनसक्ने उनको अनुमान छ ।

”सडकमा बिछ्याइएको चिप्स दुर्घटनाको एउटा कारण पक्कै हो ।”उनले ठोकुवा गरे । कारण अरुपनि हुनसक्ने तर चिप्सले दुर्घटना निम्त्याउन सहयोग गरेको देखिएको उनको भनाइ छ । ”तसर्थ, यस्तो प्रविधि सकेसम्म प्रयोग नगर्न र प्रयोग गर्नुपर्ने नै भए चिप्स बिछ्याइएको सडक खण्डमा सूचना पाटीहरू राखेर चालकलाई सचेत बनाउन जरुरी छ ।” पूर्व मन्त्री श्रेष्ठले भने । उनले चिप्सका कारण दुर्घटनाको जोखिम बढेको बताउँदै सरकार, भौतिक योजना मन्त्रालय र सडक बिभागलाई ध्यानाकर्षण समेत गराएका छन् ।

”अव्यवस्थित रूपमा सडकमा बिछ्याइएको यस्तो चिप्सको तुरुन्तै व्यवस्थापन गरियोस् । मानव जीवनसँग खेलबाड नगरियोस् ।” उनको माग छ ।

खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गर्दा प्रदेश ३–०१०२३ च ६३६६ नम्बरको इसुजु जीप सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ कुडुलेनजिक पाख्रिन घुम्तीबाट सुनकोसी नदीमा खसेको थियो । दुर्घटना पछि चालक अविन बके सहित उनका दुई साथीहरु प्रनित सायाँजू र बलराम घटुवको अवस्था अझै अज्ञात छ भने बकेका अर्का साथी सुशान्त कक्षपति भने दुर्घटना लगत्तै पौडिएर निस्किन सफल भएका छन् ।

दुर्घटनामा परेका सबै भक्तपुरवासी हुन् । चालक अविन बके रानीकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्टका संचालक रामसुन्दर बकेका जेठा छोरा हुन् ।