नेपाल प्रधानाध्यापकहरुको अन्तराष्ट्रिय काउन्सिल सदस्यमा निर्वाचित

काठमाडौं । इन्टरनेशनल कन्फिडेरेशन अफ प्रिन्सिपल (आइसीपी)को २१ सदस्यीय काउन्सिल सदस्यमा नेपालबाट प्रधानाध्यापक सुदाम प्रसाद गौतम निर्वाचित भएका छन् । अफ्रिकन देश केन्यामा भएको अधिवेशनबाट गौतमले एशिया प्यासिक क्षेत्रबाट सबैभन्दा बढी मत ल्याइ निर्वाचित भएका हुन् ।

केन्यामा ३ दिने साधारण सभाबाट आइसीपीको नयाँ नेतृत्व चयन हुँदा एशिया प्यासिफिक रिजनबाट नेपालमात्र निर्वाचित भएको हो । एसिया प्यासिफिक क्षेत्रबाट आइसीपीमा ४९ देश सदस्य रहेका छन् । केन्याको मोम्वासा सहरमा १५५ देशका एक हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका थिए । नेपालबाट शान्ति शिक्षा मन्दिरका प्रधानाध्यापक तथा प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)का केन्द्रीय अध्यक्ष सुदाम प्रसाद गौतम, कन्या मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)का केन्द्रीय सचिव घनश्याम न्यौपाने प्रतिनिधिका रुपमा सहभागी भएका थिए । त्यसैगरी काठमाडौं महानगरपालिकाका सहरी विकास आयोगका सदस्य शैलेन्द्र झा अथिति प्रतिनिधिका रुपमा सहभागी भएका थिए । मोम्वासामा ३ दिन आइसीपी काउन्सिलको बैठक, विधान अधिवेशन तथा नयाँ कार्यसिित छनौटको प्रक्रिया सम्पन्न भएको थियो । साथै ४ दिने अन्तराष्ट्रिय कन्भेन्सन सम्पन्न भएको थियो । सम्मेलनबाट नेपाल आइसीपीको पूर्ण सदस्यमा पनि छनौट भएको छ ।

यसैबीच आइसीपीको अन्तराष्ट्रिय काउन्सिल सदस्यमा निर्वाचित भएका पानका अध्यक्ष गौतम र आइसीपीको वल्र्ड सम्मेलनमा सहभागी भएका पानका सचिव न्यौपानेलाई बधाई ज्ञापन गरिएको छ । प्रिन्सिपल एसोसिएसन अफ नेपाल केन्द्रीय कार्यसमितिले काठमाडौंको दरवार हाइस्कूलमा एक कार्यक्रम आयोजना गरी बधाई ज्ञापन गरेको हो । कार्यक्रममा पान नेपालका अध्यक्ष गौतमले छिट्टै आइसीपी र पानले नेपालमा छिट्टै अन्तराष्ट्रिय शैक्षिक सिम्पोसिएम कार्यक्रम गर्न लागेको र त्यसका लागि आइसीपी काउन्सिलबाट कार्यक्रम पारित भएको जानकारी दिए । त्यसका लागि केही समयमा नै आइसीपीको कार्यकारिणी टिम काठमाडौंमा आउन लागेको पनि जानकारी उनले दिए । कामपा शहरी बिकास आयोगका सदस्य शैलेन्द्र झाले छोटो समयमा पानले गरिरहेको प्रोफेशनल कार्यबाट आफु प्रभाबित भएकोले पानको टिमलाई बधाई ज्ञापन गरे! पानका महासचिब लक्ष्मण श्रेष्ठले पानले निरन्तर शैक्षिक सुधारमा ध्यानदिदै अघि बढ़ने बताए भने पानका केन्द्रीय समिती सदस्य एव विश्व निकेतन माबि त्रिपुरेश्वरका प्रधानाध्यापक हेरंबराज कडेलले पान विशुद्ध सिकाई र गुणस्तरमा प्रधानाध्यकहरूलाई सहाजीकरण र अनुभबबाट सिकनें साझा चौतारिको भुमिका निर्वाह गर्ने बताए !

शिक्षामा सुधार गर्न विद्यालयको नेतृत्व सवल बनाउने ,असल अभ्यास आदानप्रदान गर्ने उद्देश्यसहित गठित प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले स्कूल लिडरसीप एक्सलेन्सी प्रोग्रामसहित अन्य थुप्रै कार्यक्रम सुरु गरेको छ । पानले हालै विभिन्न ७ वटा विधामा अवार्ड कार्यक्रम वितरण गरेको थियो । जसमा बेस्ट स्कूल अफ द एअर, बेस्ट म्यूनिसीपालिटी अफ द एअर, बेस्ट प्रिन्सिपल अफ द एअर लगायतका क्याटागोरी रहेका थिए भने यो बर्ष देखी बेस्ट एडू जर्नलिस्ट , बेस्ट एडू सोसल एक्टिविस्ट एवार्ड थप गर्ने जनाईएको छ। गैर राजनीतिक तथा विशुद्ध व्यवसायिक संस्थाका रुपमा रहेको पानमा हाल ५००० भन्दा बढी प्रधानाध्यापकहरु संगठित रहेका छन् । साथै पानले सातवटै प्रदेशमा प्रदेश र सबै जिल्लामा कार्यकारीणी समिति गठन गरिसकेको छ !