ग्यालेक्सी टिभीका मालिक राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

काठमाडौं । ग्यालेक्सी टेलिभिजनका मालिक जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । बिभिन्न सहकारीमा अर्बौ रकम अपचलन गरेको आरोप लागेपछि फरार भएका राईका विरुद्ध डिफ्यूजन नोनिस जारी गर्न नेपाल प्रहरीले इन्टरपोलको सचिवालयलाई अनुरोध गरी पत्राचार गरेको हो ।

केही दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय, कास्कीले प्रहरी प्रधान कार्यालयलाई सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै पत्राचार गरेको थियो । त्यसकै आधारमा इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको सचिवालयलाई अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले जानकारी दिएका छन् । प्रवक्ता ढकालका अनुसार दुई साताअघि नै डिफ्यूजन नोटिस जारी गर्ने विषय प्रक्रियामा गइसकेको थियो ।

त्यसैगरी प्रहरीले सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध पनि डिफ्यूजन नोटिस जारी गर्न सिफारिस गरेको छ । यद्यपि, उनीहरुको नाममा इन्टरपोलमा नोटिस जारी भइसकेको छैन ।

यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ । राई मलेसियामा रहेको आशंका छ । उनी त्यहाँ आएको पुष्टि भए त्यसपछि डिपोर्ट गरेर ल्याउने प्रक्रिया अघि बढ्ने एक प्रहरी अधिकृतले बताए ।

Loading...