काठमाडौं, १४ माघ । काठमाडौं उपत्यकाको तापक्रम २ डिग्रीमा झरेको छ । तापक्रम निरन्तर घटेसँगै उपत्यकामा यो वर्षकै बढी जाडो महशुस भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज आइतबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको जनाएको छ ।
गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ ।
तराई मधेशका अधिकांश जिल्लामा भने बाक्लो हुस्सु कुहिरो लागेको छ । पूर्वको तुलनामा पश्चिम तराईमा बाक्लो हुस्सु छ । ‘धनगढी, नेपालगञ्ज, भैरहवा तिर बाक्लो हुस्सु छ, भद्रपुरतिर भने तुलनात्मक रुपमा अलि कम छ,’ मौसमविद गोविन्द झाले भने । पश्चिम तराईका जिल्लामा पारदर्शिता ५० देखि १०० मिटरसम्म रहेको उनले बताए । यस्तो अवस्था अझै एक–दुई दिन कायम रहने सम्भावना रहेको मौसमविद झाले बताए ।
बाक्लो हुस्सुसँगै जाडो बढेकाले तराई मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । तर शीतलहरको घोषणा भने जल मौसम विज्ञान विभागले गरिसकेको छैन ।
मौसमविद झाले भने, ‘शीतलहर घोषणा गर्नका लागि निश्चित प्यारामिटर मिट गर्नुपर्छ, त्यो अझै मिट भएको देखिएको छैन, हामी त्यसलाई नजिकबाट नियालीरहेका छौं,’ ।