दरवार स्क्वायरमा दीप प्रज्वलन

 भक्तपुर । ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानव अधिकार संगठन भक्तपुरको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । आइतवार साँझ दरवार स्क्वायरमा दीप प्रज्वलन गरिएको हो ।

‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउदै लैजाऔं’ भन्ने मुल नाराका साथ दरवार स्क्वायरमा दीप प्रज्वलन गरिएको संगठनका अध्यक्ष राम कृष्ण मानन्धरले बताएका छन् ।

नेपाल मानव अधिकार संगठन भक्तपुरका उपाध्यक्ष पशुपतिभक्त रायको नेतृत्वमा उक्त दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्ष रायले आजकै दिन सन् १९४८ मा डिसेम्बर महिनाको १० तारिखका दिन विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको स्मरण गर्दै विश्वभरी नै मानव अधिकार रक्षाको पक्षमा आफूहरु रहेको प्रष्ट पारे । नेपाल र भक्तपुरमा मानव अधिकारको अवस्थाबारे उल्लेख गर्दै उपाध्यक्ष रायले मानव अधिकार सुनिश्चित नभई कुनै पनि समाज र देश सुखी, खुशी र सम्बृद्ध बन्न नसक्ने बताए ।

कार्यक्रममा संगठनका कार्यसमिति सदस्यहरु राम प्रसाद प्रजापति, राजेश मान मानन्धर, सरोज खोतेजा, राजेस भोखाध्यो, प्रविन त्वाती लगायतको सक्रियता रहेको थियो । उनीहरुले स्पिकरको प्रयोग गरी मानव अधिकार सम्बन्धि कुराहरुको प्रचारप्रसार गरेका थिए । कार्यक्रममा आफ्नो मानव अधिकारका विषयहरु थाहा पाउन र त्यसको उपभोगमा सचेत रहनपर्नेमा जोड दिइएको थियो भने आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मानव अधिकार हनन गर्न नहुने विषयमा समेत सजग गराइएको थियो ।

उक्त दीप प्रज्वलन कार्यक्रममा प्रहरी प्रभाग दरवार स्क्वायरका प्रहरी नायव निरीक्षक खिल बहादुर दुलालको नेतृत्वमा प्रहरीहरु समेत सामेल भएका थिए । युवा, विद्यार्थी, स्थानीय र बटुवाहरुले कार्यक्रमको अभिरुचीपूर्वक अवलोकन गरेका थिए ।

Loading...