सरकारमा जान नदिने प्रयास भैरहेको एमाले अध्यक्ष ओलीको गुनासो

आफ्नो दुई तिहाइको सरकार टिकाउन नसकेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला भने सरकारमा जाने इच्छा जाहेर गरेका छन् । आफूलाई सरकारमा जान नदिने प्रयास भैरहेको उनको गुनासो रहेको छ । भक्तपुर आएर एमाले अध्यक्ष ओलीले सरकारमा जान नदिने प्रयास भैरहेको भनेका हुन् ।

सोमबार भक्तपुरको  ताथलीमा एक ज्येष्ठ नागरिक आश्रमको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘केही मानिसहरू मेरा र एमालेका विरुद्धमा लागेका छन, उनीहरु सरकारमा जानबाट कसरि रोक्ने भन्ने उपायको खोजीमा छन् ।’ उनले ती मानिस को हुन् भन्ने बारे भने केहि पनि भनेनन् ।

सरकारमा हुँदा राम्रो काम गरेकाले नै आफूलाई सरकारमा जान नदिने प्रयास भैरहेको उनको भनाइ छ । आफू सरकारमा नभए पनि देश र जनताका पक्षमा निरन्तर काम गरिरहने उनले प्रष्ट पारे ।

पूर्व प्रधानमन्त्री ओलीले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता बढाएर आफ्नो नेतृत्व हुँदा आफूले ४ हजार पुर्याइदिएको जिकिर गरे । आफूलाई जेष्ठ नागरिकको सदैव साथ् रहने समेत उनले विश्वास व्यक्त गरेका छन् ।

उक्त अवसरमा पूर्व प्रधानमन्त्री ओलीले आश्रमको तर्फबाट बिभिन्न व्यक्तिलाई सम्मान समेत गरेका थिए । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, चाँगुनारायण नगरपालिकाकी निवर्तमान उपमेयर बिणा बास्तोला, कलाकार बद्री पङ्गेनी लगायतको आतिथ्यता रहेको थियो ।

सोमबार शुरु ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’ भक्तपुरको चाँगुनारायण ९ ताथलीमा रहेको छ । यहाँ असहाय जेष्ठ नागरिकलाई निशुल्क आश्रय दिने आश्रमले जनाएको छ ।

Loading...