सरकारसँग स्पष्ट बहुमत छ : महरा

भक्तपुर, २३ बैशाख २०८० । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि सरकारसँग स्पष्ट बहुमत रहेको बताएका छन् । शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले सरकार संग स्पष्ट बहुमत रहेको बताएका हुन् ।

”रास्वापाले समर्थन फिर्ता लिँदैमा सरकारमाथि प्रश्न उठ्ने अवस्था छैन” महराले भने । रवि लामिछानेले भ्रष्टाचार विरुद्धका फाइल खोले मात्र सरकारमा सहभागी हुने भन्दै आएपनि सरकार त्यसमा अघि बढेको बेला समर्थन फिर्ता लिनुले कुरा अनुसार काम नभएको बताए ।

माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले सरकार जनतासँग गरेको प्रतिवद्धता अनुरुप अघि बढिरहेको बताए । उनले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन र मिटरब्याज पीडितलाई न्याय दिने कुरामा प्रचण्ड सरकारले खुट्टा नकमाउने दावी गरे । इतिहासमै पहिलो पटक शैक्षिक सत्र सुरु हुनु पहिले नै पाठ्यापुस्तक विद्यालयमा पु¥याउन लगायतका कार्यले सरकारसँग जनताको आशा बढेको उनको भनाइ छ ।

माओवादी केन्द्रसहित ६ वटा पार्टीबीच समाजवादी मोर्चा बनाउने भन्ने विषयमा छलफल जारी रहेको महराले जानकारी दिए । विभिन्न चरणमा छलफल भइरहेको बताउँदै महराले अगाडि भने, “हाम्रो पार्टी माओवादी केन्द्रसहित ६ पार्टीबीच समाजवादी मोर्चा बनाउनेबारे छलफल जारी रहेको छ । मोर्चामा सहभागी विचार र कार्यक्रम मिल्ने पार्टी बीच एकता गर्ने नभए राष्ट्र र राष्ट्रियता र जनजिवीकाका सवालमा सहकार्य गर्ने सहमति भएको छ ।”

कार्यक्रममा अभिनेता एवं चलचित्र निर्माता तथा राष्ट्रियता सम्बन्धी अभियन्ता नवल खड्काले सरकारले भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउन हिम्मत गरेको बताउँदै त्यसबाट पछि नहट्न सुझाव दिए । उनले भने, “प्रचण्ड नेतृत्वको सरकारले राम्रो सुरुवात गरेको छ, मानव बेचबिखनजस्तो कार्यमा संलग्नमाथि छानविन सुरु भएको छ । अब यस्ता भ्रष्टहरुलाई कारवाही गर्नपर्छ । त्यसमा हाम्रो साथ र सहयोग हुन्छ ।”

खड्काले ओम्नी, ७० करोड, ३३ किलो सुन, ट्यांकी, बाइडबडीजस्ता काण्डको फाइल पनि खोल्न खड्काले सरकारलाई सुझाव दिए । भ्रष्टाचारीको फाइल खोल्न सुरु गरेपछि सरकारलाई अप्ठ्यारो पार्ने खेल सुरु भइसकेको बताउँदै उनले भने, “जनतासँग गरेको वाचा कार्यान्वयन गर्न सुरुदेखि नै सरकार विरुद्ध घेराबन्दी पार्ने खेल सुरु भइसकेको छ, बरु सरकारबाट हट्नु परोस् तर भ्रष्टहरुलाई कारवाही गर्ने कदमबाट पछि हट्नु हुँदैन ।”

देशको सीमना दिनदिनै मिचिरहेको र देशको रक्षाको लागि एकजुट हुने सन्देश दिन आफूले चलचित्र ‘काँडेतार’ निर्माण गरेको तर सरकारले सेन्सर गरेको बताउँदै प्रदर्शनको लागि उनले सहयोगका लागि आग्रह गरेका थिए ।

Loading...