काठमाडौं, ३ बैशाख २०८० ।
ऐतिहासिक जिल्ला सिन्धुलीको भीमस्थानमा कृष्णप्रसाद दाहाल र टंककुमारी दाहालको कोखबाट जन्मिनुभएका रमेश दाहाल विगत एक दशकदेखि सम्पादन कार्यमा तल्लिन हुनुहुन्छ । उहाँले धेरै कथासंग्रह, निबन्ध, उपन्यास, संस्मरण, कविता, गजल मुक्तकलगायत विधाका कृति सम्पादन गर्नुभएको छ । गीत, कवितामा कलम चलाउनुहुने दाहालका दुईवटा गजलसंग्रह प्रकाशित छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को विगत विसं ५६-५७ सालदेखि कृति प्रकाशन र प्रचारप्रसारका सामग्री उत्पादनका कार्य गर्दै आउनुभएको उहाँको डिस्कमा अनेसासको इतिहास नै भन्दा पनि हुन्छ । यसको स्थापनाकाल सन् १९९१ देखि हालसम्मका सम्मेलन, त्यसका घोषणापत्र आदि इत्यादि प्रायः सम्पूर्ण सामग्रीहरू उहाँको डिस्कमा सुरक्षित छन् । उहाँ प्रेस व्यवसायमा पनि संलग्न भएको हुँदा डायस्पोरिक साहित्यका कृतिहरू अधिकांश उहाँको प्रेसबाट र उहाँको सम्पादनमा प्रकाशित छन् । हालै साहित्यकार खेमनाथ दाहालको अहोरात्र (यर्थार्थपरक उपन्यास) उहाँले सम्पादन गर्नुभएको छ । रंगमञ्चमा पनि आफूलाई संलग्न गराउनुभएका उहाँले नाटक र केही चलचित्रमा अभिनय गर्नुभएको छ । सम्पादक र लेखकको भाव मिल्दा राम्रो हुन्छ भन्नुहुने रमेश दाहालसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अशं :-
साहित्य र जीवनलाई कसरी हेर्नुहुन्छ ?
साहित्य, कलाविनाको मानिस सिङपुच्छर नभएको लिँडो पशुसरह हुन्छ भन्ने भनाइ नै छ । साहित्य र कला भनेको मानिसले खुशीसाथ जीवन जिउने आधार हो । यो विनाको मानिस निरस हुन्छ । रसिलो जीवन साहित्य र कलाले नै दिन्छ ।
यहाँ रंगमञ्चको कलाकार पनि हुनुहुन्छ होइन ?
हो, म रंगमञ्चको कलाकार पनि हुँ । स्कुले जीवनमा विद्यालयको वार्षिकोत्सवमा नाटकहरू गरिन्थ्यो । पछि राजधानी आएपछि मैले राष्ट्रिय नाचघरमा एक वर्ष अभिनयको तालिम लिएँ । अहिले नाचघरमा २९औं अभिनयको कक्षा भइरहेको छ । म दोस्रो ब्याजको विद्यार्थी थिएँ । यहाँ आएपछि पनि रंगमञ्चमा धेरै काम गरेँ । प्रशिक्षार्थी हुँदाहुँदै बिएस राणाले निर्देशन गरेको डाइमन शमशेरको ‘वसन्ती’ नाटकमा अभिनय गरेको थिएँ । पछि प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको एकल अभिनयमा उत्कृष्ट अभिनयको पुरस्कार पनि पाएको थिए । मञ्च र सडकनाटकहरू धेरैवटा गरेँ । चलचित्रमा चाहिँ ‘गोधूलि’ पहिलो चलचित्र हो । काठमाडौंमा महिना दिन चल्यो । त्यतिबेला फोटाका नि रिल हुन्थे, फोटाका रिलभन्दा चलचित्रका रिलको चक्का धेरै ठूलो हुन्थ्यो । गोधूलि चलचित्रको त्यस्तै रिल काँधमा बोकेर अमेरिका पुगेका निर्माता उतै भासिए । काठमाडौंबाहेक मोफसलमा त्यो सिनेमा चल्न पाएन । त्यसपछि अभिनय गरेका चारवटा चलचित्र विविध कारणले प्रदर्शन नै भएनन् । माओवादी द्वन्द्वमा आधारित ‘मैना’ चलचित्र चाहिँ प्रदर्शन भयो । अभिनय मेरो सोखको विषय भएकाले हाल पनि केही सिरियल वा चलचित्रमा प्रस्ताव आउँछन् तर साहित्य लेखन सम्पादन र आफ्नो व्यवसायका कारण अस्वीकार गर्नुपर्ने बाध्यता आइपर्छ ।
पछिल्लो समय साहित्यकार खेमनाथ दाहालको अहोरात्र (यर्थार्थपरक उपन्यास) को सम्पादन गरे । यो कृति हिन्दू र मुस्लिम विद्वान्बीचको घनघोर रूपमा भएको धार्मिक शास्त्रार्थमा आधारित छ । मैले सम्पादन गरेका कृतिहरूमध्येको उदाहरणीय कृति ठानेको छु । यस कृतिमा एकजना कट्टर हिन्दू विद्वान् मुस्लिम धर्मपर्ति नतमस्तक हुन्छन् वा एकजना कट्टर मुस्लिम विद्वान् हिन्दूधर्मप्रति नतमस्तक हुन्छ ।
अहिलेसम्म कति पुस्तकको सम्पादन गर्नुभयो र त्यसमध्ये मन परेका पुस्तकहरू कुन–कुन हुन् ?
अहिलेसम्म दुई दर्जनभन्दा बढी कृतिको सम्पादन, भाषा सम्पादन गरिसकेँ । त्यसमध्ये ‘यात्राको सिकर्नी, मुन्द्री, नबोल्नेहरू, तमसुक, फकलीको गाउँ, मार्वलहाउसकी शालिनी, चिबेनकटो, लिच्छविलिपि खाटाबसेको घाउ, काव्यपराग, ओथारो बसेको सपना, मभित्रको म, विप्लपुरुष चन्द्रबहादु थापा, सूर्योदय, मूत्र र जननेन्द्रीयप्रणाली रोग निदान तथा उपचार, एटलान्टिकदेखि प्रशान्त महासागरसम्म, अनेसासको इतिहास, उत्तर अमेरिकाली डायस्पोरा, सिर्जनामा नारी, अनेसास ट्रष्टी परिचय, इन्द्रधनुष, भन्दिनु है बा, तिम्रो सम्झनामा, हराएका पानाहरू, यथार्थमा अमेरिका-२, सरुलता, प्रतिबन्ध आदि विभिन्न विधाका छन् । बाँकी धेरैका नाम अैले सम्झनामा आएन । आवरण एवं आकृति विन्यासमा संलग्न भएका कृतिहरू त दर्जनौं छन् ।
पछिल्लो समय सम्पादन गर्नुभएको कृति ?
पछिल्लो समय साहित्यकार खेमनाथ दाहालको अहोरात्र (यर्थार्थपरक उपन्यास)को सम्पादन गरे । यो कृति हिन्दू र मुस्लिम विद्वान्बीचको घनघोर रूपमा भएको धार्मिक शास्त्रार्थमा आधारित छ । मैले सम्पादन गरेका कृतिहरूमध्येको उदाहरणीय कृति ठानेको छु । यस कृतिमा एकजना कट्टर हिन्दू विद्वान् मुस्लिम धर्मपर्ति नतमस्तक हुन्छन् वा एकजना कट्टर मुस्लिम विद्वान् हिन्दूधर्मप्रति नतमस्तक हुन्छ । यसका लागि त कृति नै पढ्नुपर्दछ । यो कुरा म अहिले भन्दिनँ । सँगसँगै डा.अर्जुनदेव भट्टको कथा कृति सम्पादन गर्दैछु । यो चाहिँ चिकित्सा विषयमा आधारित विभिन्न कथा हुन् । ‘कृष्टिनाको प्रेम’ उपन्यास सम्पादन गर्न आधाउधी बाँकी छ ।
यहाँको विचारमा कृति सम्पादन भनेको के हो ?
यहाँले यो राम्रो प्रश्न गर्नुभयो । सम्पादन गरिसकिएको भनेर कयौँ लेखक, प्रकाशक भाषा शुद्धीकरण र मुद्रणका लागि आइपुग्नुहुन्छ । मुद्रणका लागि अन्तिम भनिएका कतिपय कृतिहरूमा पनि अनगिन्ति अशुद्धहरू देख्छु र सम्पादकीय पनि अपूरो देख्छु । यद्यपि नाम चलेका सम्पादकको नाम भने मुद्रण पेजमा लेखिएका हुन्छन् । कुनै अन्नबाली मिहिनेती, अनुभवी किसानले फलाएको छ भने त्यो अन्नलाई खासै केलाइकुलाई गर्नुपर्दैन, ढुंगामाटो पनि कम हुन्छन् । एकपटक सर्लक्क निफनिदिएपछि त्यो पकाएर खाँदा दाँतमा लाग्दैन । तर, कुनै चाहिँ धेरै निफननाफन, केलाइकुलाई, ढुंगामाटा, छेस्काछेस्की सबै हेर्नुपर्ने हुन्छ ।
सम्पादन भनेको पनि यही हो । किसानले अन्नबाली फलाएझैँ लेखकले कृति सिर्जना गर्छ र सम्पादकले चाहिँ कृति पढ्दा सलल बगिने, कतै नअड्किने, नअलमलिने, मन–मस्तिष्कमा सुर्लुक्क छिर्ने र भाषिक संयोजनमामा पालिस लगाई मिठास थप्ने काम गर्छ । सम्पादन गर्दा प्रायः तीनचोटि गर्नुपर्दछ, मैले त्यसै गर्छु । पहिलो पटक सम्पादक बनेर, दोस्रोपटक पाठक बनेर तेस्रो पटक समालोचक बनेर गरिएको कृतिमा सम्पादकीय त्रुटि न्यून हुन्छन् । सम्पादकले लेखनमा कहीँ कतै कुरा अपुग छन् भने पनि लेखकसँग परामर्श गरेर थपिदिँदा हुन्छ वा धेरै नै त्यस्ता छन् भने लेखकलाई यसो गर्नु भनी पुनर्लेखन गर्न लगाउनुपर्ने हुन्छ ।
अर्को कुरा के हो भने सम्पादक र लेखकको भाव मिल्दा राम्रो हुन्छ । लेखकले कुन सम्पादकलाई आफ्नो कृति दिँदा राम्रो हुन्छ र आफ्नो भावशैली कुन सम्पादकसँग प्रायः मेल खान्छ त्यो ध्यान दिनुपर्छ । लेखकले सम्पादकप्रति विश्वास पनि गर्नुपर्छ । यदाकदा लेखकहरूको दृष्टिकोण एकजनालाई सम्पादन गराएपछि अरू धेरै सम्पादकलाई देखाउँदा वा काम गराउँदा कृति राम्रो हुन्छ कि भन्ने रहेको हुन्छ । लेखकले भरिसक्ये सम्पादकीय दृष्टिले कमजोरी नहोस् भनेर त्यसो गरे तापनि त्यसको असर उल्टो भइरहेको हुन्छ । धेरैले अलिअलि फेरबदल, काटकुट, थपथाप गर्दा लेखकको शैली वा भाव कृतिमा केही बाँकी नरहन सक्छ र पठनीय नबन्न सक्छ । अनि आफूले काम लगाएका सम्पादकहरूको कार्यलाई नि काट्न नसक्ने र प्रकाशन गर्ने समय नजिक आइरहेको हुँदा कृति खिचडी भएर निस्कन्छ । यो घटना यदाकदा मैले सम्पादन गरिसकेर जिम्मा लगाइसकेको लेखकका कृतिमा पनि पाएको छु ।
मैले भाषिक सम्पादन वा शुद्धता नेपाली मानक भाषानुसार गर्दछु । हाम्रो भाषा भनेको मानक भाषा हो । गुलाबको ‘फूल’ लाई ‘फुल’ आकाशको ‘जून’ लाई ‘जुन’, ‘विद्या लाई ‘विद्या’ ‘शहर’लाई ‘सहर’, ‘शत्रु’लाई ‘सत्रु’ आदि लेख्न हृदयले मान्दैन र मान्नु पनि हुँदैन ।
अहिले घोष्ट राइटिंगको पनि चलन धेरै आएको छ । सामाजिक सञ्जालमा पनि घोष्ट राइटिंगका लागि विज्ञापन देखिइरहेका हुन्छन् । यसलाई तपाईं कसरी लिनुहुन्छ ?
घोष्ट राइटिंग अर्थात् पे्रत लेखनको चलन अहिलेमात्र होइन वेदव्यासको कालखण्डदेखि नै चलिआएको हो । श्रीमद्भागवतका रचनाकार वेदव्यास थिए भने त्यसका लेखक थिए श्रीगणेशजी । रचना एउटाको लेखन अर्काको भएपछि गणेशजी पनि प्रेत लेखक नै भए । यसरी लेखिएको कृतिमा भाव वा रचना भन्नेको हुन्छ तर लेखनशैली प्रायः लेख्नेको हुन्छ । साहित्यको मूलमर्म भनेको लेखनशैली हो प्रस्तुति हो । यसरी लेखिएको कृतिका लेखक कसलाई मान्ने ? भनेको कुरा रेकर्ड गरेर वा सुनेर उसकै शैली वा प्रस्तुतिअनुसार लेख्नेले लेखे त खासै फरक पर्दैन । अहिलेको प्रविधियुक्त संसारमा अब त बोलेको कुरा आफैं टाइप हुने एप्सहरूको विकास भइसक्यो भन्ने सुन्छु यदि अहिले नभए पनि भविष्यमा हुनेछ । घोष्ट राइटिङ गर्नेलाई राइटर भन्न मलाई संकोच लाग्दछ ।
यहाँले रूचाउनुभएका कुन-कुन साहित्यिक पुस्तक हुन् र कुन-कुन साहित्यकार हुनुहुन्छ ?
मैले अंग्रेजी साहित्य पढेको छैन । नपाली साहित्यका विषयमा कुरा गर्नुहुन्छ भने लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, माधव घिमिरेको ‘गौरी’, गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रह, पारिजातको ‘शिरिषको फूल’, शंकर लामिछानेका निबन्ध हुन् । वर्तमान समयका ध्रुवचन्द्र गौतमको ‘अलिखित’, कृष्ण धरावासीको ‘राधा’, खेमनाथ दाहालको ‘श्वेतपत्र’ महाकाव्य हुन् । अन्य पनि धेरै छन् ।
यहाँलाई गीत र कविता कुन मन पर्छ ? तपाईंले गीत पनि लेख्नुभएको छ ?
मलाई गीत कविता दुवै मन पर्छन् । नेपाली गीतमा नारायणगोपालले गाएका गीत अत्यधिक मन पर्छन् भने हिन्दीमा गुलामअलि, किशोरकुमारले गाएका गीत, गजल मन पर्छन् । रात्रिमा ११ बजेपश्चात् पनि निद्रादेवी आगमन भइनन् भने यिनै गीत गजलको साहरा लिन्छु । मैले गीत एकादुई लेखेको छु, जुन पत्रपत्रिकामा फुटकर रचनाका रूपमा प्रकाशित भएका छन् ।
अन्त्यमा ?
अहिले नेपाली साहित्यमा धेरै कृतिहरू प्रकाशन भएका छन् । कतिपय लेखकहरू कृतिको गुणस्तरभन्दा गोटास्तरमा बढी केन्द्रित भएका छन् जस्तो लाग्छ । लेखक बन्न धेरै कृति प्रकाशन गर्न जरुरी छैन । अर्को कुरा काठमाडौंमा प्रायः अधिक मात्रामा नेपाली साहित्यिक कृतिहरू प्रकाशन गर्ने सीमित मूद्रणगृहहरू छन् । हुन त मूद्रणगृहको काम भनेको जस्तो पाण्डुलिपि आयो त्यस्तै मूद्रण गर्ने हो । यद्यपि प्रायः मूद्रणकर्ताहरूले पनि भाषिक अशुद्धता भएका नेपाली साहित्यिक कृतिहरूलाई मूद्रण गर्नुपूर्व भाषिक शुद्ध गराई वा गर्न लगाई मूद्रण गरिदिने हो भने नेपाली भाषाका साहित्यिक कृतिहरूको स्तरोन्नति हुनेथियो । मुद्रण नहुन्जेल उक्त कृति बजारमा जाँदैन । अतः त्यस्ता कृतिहरूलाईको स्तर बढाउनका निमित्त मूद्रणगृहको पनि भूमिका हुन्छ जस्तो लाग्छ । (हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकाबाट लिइएको)