स्पेस फोरके टेलिभिजनमा ठूलो संख्यामा कर्मचारी माग

काठमाडौ । स्पेस फोर के टेलिभिजनले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । टेलिभिजनको मानव स्रोत संशाधन विभागले करिव २०० जना कर्मचारीहरुका लागि विज्ञापन आह्वान गरेको हो ।

काठमाडौंको मध्यबानेश्वरमा स्थापना गरिएको स्पेस फोरके टेलिभिजनले देशभर सबै जिल्लाका लागि रिपोर्टर, क्यामेरा पर्सन, कार्यक्रम उत्पादक, ग्राफिक्स तथा भिडियो एडिटर, समाचार तथा कार्यक्रम प्रस्तोता, चालकसहित थुप्रै पदका लागि विज्ञापन आह्वान गरेको हो । टेलिभिजनले जिल्ला रिपोर्टरहरु ७७ जना, क्यामेरामा २० जना, काठमाडौं उपत्यकाका लागि रिपोर्टर १० जना, ग्राफिक्स र भिडियो एडिटर १२ जना, प्रोग्राम प्रोड्यूसर ५ जना, कार्यक्रम प्रस्तोता ६ जना, समाचार प्रस्तोता ६ जना, स्क्रिप्ट राइटर ५ जना, आइटी इन्जिनियर २ जना, चालक १० जना, रिसेप्सनिस्ट ३ जना, कार्यालय सहायक २ जना, बजार प्रतिनिधि ५ जनाका लागि विज्ञापन आह्वान गरेको छ ।

अत्याधुनिक प्रविधि र ठूलो लगानीका साथ आएको यस टेलिभिजनले नेपालको टेलिभिजन पत्रकारितामा नयाँ आयाम थप्ने लक्ष्य लिएको छ । टेलिभिजनले राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा लामो समय काम गरेका दक्ष टिम र अनुसन्धानकर्ताहरुको एक टोली निर्माण गरिरहेको जनाएको छ । हाल टेलिभिजनको अनुसन्धान टोलीले नेपाली टेलिभिजनको प्रवृति, बजार, सबै मिडियाबाट प्रकाशित प्रशारित विषयवस्तुहरुको गहिरो अध्ययन गरिरहेको जनाइएको छ । साथै नेपालको समग्र विज्ञापन बजारका बारेमा पनि अनुसन्धान गरिरहेको जनाएको छ । टेलिभिजनको एक टोलीले टेलिभिजनका लागि विभिन्न विषयवस्तुहरुको अध्ययन, अनुसन्धान गर्नुका साथै विभिन्न तथ्यहरु संकलन तथा विश्लेषण गरेर हाल व्याकअप तयार गरिरहेको पनि बताइएको छ । टेलिभिजनले कार्यरत सबै जनशक्तिका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने जनाएको छ ।

टेलिभिजनको सन्चालकमा जापान, अस्ट्रेलिया, कोरिया तथा युरोपका विभिन्न कम्पनीहरुको व्यवस्थापनमा नेतृत्व गरिरहेका र नेपालमा केही ठूला उद्योग तथा ठूला कम्पनी सन्चालन गरिरहेकाहरु रहेको बताइएको छ । पूर्ण रुपमा व्यवसायिक अभ्यास गर्ने जनाएको स्पेस फोर के टेलिभिजनले सबै नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक जातीय, लिंगीय विविधता तथा सबै नागरिकका विचारलाई समान रुपमा स्थान दिने पनि जनाएको छ । टेलिभिजनको एक सन्चालकले भने, स्पेस फोर के टेलिभिजन तथ्यमा उभिएर सत्य खोज्ने, सत्य खोज्नका लागि प्रश्नहरु केन्द्रित गर्ने र बढिभन्दा बढि नागरिकको वास्तविक आवाज बन्नेछ । उनले टेलिभिजनको बलियो न्यूज रुम र अनुसन्धानकर्ताहरुको टोली गहिरो अनुसन्धानबाट बढिभन्दा बढी सूचना सामग्री प्रदान गरी नागरिकलाई आफ्नो विचार मजबुत बनाउन प्रयत्नशील रहने बताए । उनले भने, “हामी उच्च प्रविधि र दक्ष जनशक्तिको सहयोगमा राज्यमा समावेशिता, सहभागिता र सहअस्तित्वलाई बढावा दिन प्रयत्नशील छौ । संसारभरका ताजा सूचना, सन्देश र विचार निरन्तर दर्शकहरु सामु प्रस्तुत गर्दै आइरहेका छौं । हामीले भ्रष्टाचार र भय मुक्त समाज निर्माण गर्न निर्भिक पत्रकारिताको अभ्यास गरिरहेका छौं । देश र नागरिकको हितलाई केन्द्रमा राखेर राज्यका सबै अंगहरुलाई जिम्मेवार, जवाफदेही बनाउने र नागरिकलाई आफ्नो कर्तव्य निर्वाह गर्न सघाउने हाम्रो उद्देश्य हो ।”

Loading...