सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नहुने ,आफ्नो निर्णयबाट पछि हट्यो विभाग

काठमाडौँ –  यातायात व्यवस्था विभागले  असार मसान्तसम्म अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णयबाट आफै पछाडि हटेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै विभागले साउन १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्ट पारेको हो । 

 विभागले  जारि गरेको बिज्ञप्तिमा  , साउन १ गते विहान देशभर गुड्ने सबै सवारीमा इम्बोस्ड प्लेट जडान भएको हुनुपर्नेछ भन्ने मनसाय नभएको जनाएको  छ ।

कात्तिक २२ मा प्रकाशित राजपत्रमा १ मंसिर २०७८ देखि नयाँ दर्ता हुने सवारी साधन, १ फागुनदेखि नामसारी हुने सवारी साधन र १ जेठ २०७९ देखि सवारी धनी प्रमाणपत्र नवीकरण हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने उल्लेख थियो । विभागले राजपत्रको सूचनामा तोकिएको सवारी साधनमा मात्र अनिवार्य गरेको र अन्य सवारी साधनमा सम्बन्धित सवारी कार्यालयहरुले लट नम्बरअनुसार तोकेर सूचना निकालेर इम्बोस्ड प्लेट जोड्दै जाने बताएको छ ।

यसै गरि विभागले राजपत्रको सूचनाअनुसार अनिवार्य गरेका सवारी साधनमा जोडिएको वा नजोडिएको भन्नेबारेमा भने अनुगमन गर्ने बताएको छ ।

विभागले शुक्रबार एक सूचना निकाल्दै बागमती र गण्डकीका सबै सवारीसाधनले असार मसान्तसम्ममा अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने नभए साउन १ देखि कारबाही हुन चेतावनी दिएको थियो ।  

तर सामाजिक सञ्जालदेखि संसदसम्म चौतर्फी विरोध भएपछि सो निर्णयबाट विभाग पछाडि हटेको छ ।

 

 

 

 

Loading...