फोहर बोकेका गाडी बिच्चैमा रोकिए , स्थानियेले मानेनन् सम्झौता

काठमाडौं । काठमाडौं उपत्यकामा हप्तौंपछि आज (मंगलबार) देखि उठाउन थालिएको फोहोर फाल्न ल्याण्डफिल्ड साइटका स्थानीयले फेरि अवरोध गरेका छन् ।

सोमबार सरकार, नगरपालिकाहरु र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिहरुबीच भएको सहमति नमान्ने भन्दै नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले फोहोर लिएर गएका गाडीलाई अवरोध गरेका हुन् । सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच आजदेखि फोहोर विसर्जन गर्न दिनेलगायतका सहमति भएको थियो ।

तर आज काठमाडौंबाट फोहोर लिएर गएका महानगरपालिकाका गाडीलाई स्थानीयले बाटोमै रोकेका छन् । उनीहरुले फोहोर फाल्न नदिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

सोमबार साँझ भएको सहमतिमा शहरी विकास मन्त्रालयका आयोजना निर्देशक रविन्द्र बोहरा, काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्माले हस्ताक्षर गरेका छन् ।

ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयवासीको माग सम्बोधनगरि फोहार व्यवस्थापन गर्ने गरी सहमति जुटेको हो । सहमति अनुसार काठमाडौं महानगरपालिकाले ल्याण्डफिलसाइटमा फोहोर फालेपछि हरेक दिन १५ सेन्टिमिटर माटोले पुर्नेछ। त्यसो गर्दा दुर्गन्ध फैलन नपाउने बताईएको छ ।

यसैगरी महानगरपालिकाले एक साताभित्रै स्थानीय वासिन्दाको स्वास्थ्य विमा गर्न सुरु गर्ने छ भने सडक तथा अस्पताल निर्माणमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गर्नेछन । महानगरपालिकाले अबदेखि उपत्यकामा संकलन हुने फोहोरलाई कुहिने र नकुहिनेमा वर्गिकरण गर्नेछ । आगामी साउनदेखि कुहिने र नकुहिने फोहोरलाई अलग्गै राख्नुपर्ने व्यवस्था महानगरपालिकाले गर्ने भएको छ ।

कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन अन्यत्रै कारखाना स्थापना गरिने भएको छ। साथै नकुहिने फोहोरलाई मात्रै बञ्चरेडाँडामा लगेर विर्सजन गरिने छ ।

Loading...