नाइजेरियामा क्याथोलिक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा ५० जनाको मृत्यु

काठमाडौँ । अफ्रिकी मुलुक नाइजेरियाको दक्षिणपश्चिममा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीहरुले आक्रमण गर्दा ५० जनाको मृत्यु भएको छ । बन्दुकधारीको आक्रमणमा बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

नाइजेरियाको सामान्यतया सुरक्षित मानिएको दक्षिणपश्चिममा अवस्थित ओवो शहरको सेन्ट फ्रान्सिस जेभियर क्याथोलिक चर्चमा आक्रमण भएको हो । आक्रमणमा नाइजेरियाको उत्तरमा आश्रयस्थल बनाउँदै आएको जिहादी समूहको हात रहेको अनुमान गरिएको छ ।

यस्ता उग्रवादी समूहले सो क्षेत्रमा पटक पटक सर्वसाधारणलाई समेत क्षति पुग्नेगरी आक्रमण गर्ने गरेको सरकारी अधिकारीहरूले बताएका छन् । यद्यपि हालसम्म आक्रमणको जिम्मेवारी कुनै समुहले लिएको छैन ।

राज्यको गभर्नर कार्यालयका प्रवक्ता रिचार्ड ओलाटुन्डेले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताएअनुसार चर्चमा उपस्थित मानिसलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणअघि चर्चभित्र एउटा सानो विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उपराष्ट्रपति यमी ओसिनबाजो केही घाइतेलाई भेट्न पुगेका एएफपीले जनाएको छ ।

राज्य सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा सात दिने शोकको घोषणा गरेको छ । नाइजेरियाको मेडिकल एसोसिएसन (एनएमए) ले पनि स्थानीयहरुलाई घाइतेका लागि रक्तदान गर्न अपिल गरेको थियो ।

एक जना प्रत्यक्षदर्शीले एएफपीसँग चर्चको परिसरमा कम्तीमा पनि पाँच जना बन्दुकधारी देखेको बताए ।

आफ्नो नाउँ अबायोमी बताउने उनले एएफपीलाई भने, ‘चर्चभित्र ठूलो विस्फोट र गोली हानाहान भएको सुन्दा म नजिकैबाट गन्तव्यतिर लम्किरहेको थिएँ । आक्रमण सुनेपछि चर्चमा पुग्दा त्यहाँ सुरक्षाकर्मी पुगेको र घटनास्थललाई घेरा हाली आक्रमणकारीको खोजी भइरहेको थियो ।’

घटनापछि आक्रमणकारी त्यहाँबाट फरार भएको बताइएको छ ।

Loading...