सेनाले बनायो निर्वाचन सुरक्षाका लागि ८३४ ‘अप्रेसन बेस’, संसद भवनको सुरक्षामा पनि सेना

काठमाडौँ । निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले देशका ८३४ वटा अप्रेसन बेस स्थापना गरेको छ। गण र गुल्मबाट ‘कभर’ गर्न नसकिने स्थानमा सेनाले अस्थायी बेस स्थापना गरेको हो। सुरक्षाको संवेदनशीलता र आवश्यकतालाई मध्यनजर गर्दै थप अप्रेसन बेस पनि स्थापना गरिने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

सरकारले मतदानको दिन हरेक मतदानस्थलमा ३० मिनेटभित्र पुग्ने गरी तैनाथ रहन निर्देशन दिएपछि सेनाले त्यही अनुसारको तयारी गरेको हो।

सकेसम्म हेलिकोप्टरको प्रयोग घटाउन अप्रेसन बेस बढाइएको सिलवालले बताए। यी बेसबाट पनि मतदानस्थल तत्काल पुग्न नसकिने स्थानका लागि सेनाले चार ठाउँमा हेलिकोप्टरसहितको टोली तैनाथ गरेको छ।

यस्तै सेनाले ५१ वटा कारागारको सुरक्षा जिम्मा पनि लिएको छ। त्यहाँ रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्वाचन सुरक्षामा खटाइने भएपछि सेनाले ती कारागारको सुरक्षा जिम्मा लिएको हो।

देशका विभिन्न विमानस्थलको सुरक्षा जिम्मा पनि सेनाले लिइसकेको छ। विमानस्थलमा यात्रु चेकजाँच लगायतका अत्यावश्यक संख्यामा मात्रै प्रहरी राखेर बाँकी सुरक्षामा सेना खटिएको हो।

कारगारमा पनि कैदीबन्दी ल्याउने लैजाने काममा मात्रै प्रहरी राखेर बाँकी सेना खटाइएको छ। यस्तै रेडियो नेपाल प्रसारण केन्द्र, संसद भवन सहित १७ वटा महत्वपूर्ण स्थानको सुरक्षामा पनि सेना खटिएको छ।

निर्वाचनमा ७१ हजार नेपाली सेना खटिने भएको छ। नेपाल प्रहरी ६१ हजार ८३१ जना, एक लाख म्यादी, सशस्त्र प्रहरी २३ हजार ५३२ जना, ३ हजार गुप्तचर पनि खटिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालनका लागि जेठ ३० गते आदेश जारी गरेकी थिइन्। त्यसको भोलिपल्ट वैशाख १ गतेबाट सेना परिचालन गरिएको प्रवक्ता सिलवालले बताए।

‘हामीले सुरुमा सूचना संकलन र एरिया ‘डोमिनेसन’, मतदानस्थलको रेकी र अन्य बन्दोबस्तीको काम गरिरहेका थियौं, विस्तारै अरु जिम्मेवारी बढाउँदै गयौं’, प्रवक्ता सिलवालले भने।

मतपत्र छपाइको सुरक्षादेखि ढुवानीसम्मको सुरक्षा जिम्मा पनि सरकारले सेनालाई दिएको थियो। कतिपय स्थानमा नेपाली सेनाको हेलिकोप्टरमै निर्वाचन सामाग्री ढुवानी गरिएको थियो। सेनाले सबै जिल्लामा सामाग्री पुर्‍याइसकेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट पालिकामा मत पत्र लैजाने सुरक्षामा पनि सेना खटिने छ। २७ गते बेलुकासम्ममा सबै मतदानस्थलमा निर्वाचन सामाग्री पुर्‍याइसक्ने आयोगले जनाएको छ।

हालै स्थापना गरिएको बेसमा जिल्ला बाहिरबाट टोली पठाइएको हो। ती हरेक बेसमा बम डिस्पोजल टोली पनि रहनेछन्। खबर आएको ३० मिनेटभित्रमा हरेक मतदानस्थलमा पुग्ने गरी बम डिस्पोजल युनिट पनि तैनाथ रहने सेनाले जनाएको छ।