काठमाडौं महानगर उपमेयरमा एमाले उम्मेदवार डंगोलविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, २० बैशाख । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)का तर्फबाट उपमेयरको उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिएर ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोग लगाउँदै उनीविरुद्ध अख्तियारमा उजुरी दर्ता परेको हो ।

यही १६ वैशाख १६ मा परेको उजुरीमा घटना अनुसन्धान गरी डंगोललाई कारबाही गर्न माग गरिएको छ । उजुरीमा शहरी विकास परियोजनामा काम गर्न प्राविधिक विषयको ज्ञाता हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्तिलाई नियुक्ति दिइएको भन्दै गैरकानूनी आर्थिक लाभ लिएको आरोप लगाइएको छ ।

अख्तियारमा उनीविरुद्ध दर्ता गरिएको उजुरीको नम्बर सी–०३२५३१, ०७९–०१–१६, १५२६२३८५ रहेको छ ।

पूर्व मिस नेवाः डंगोल विभिन्न सञ्चार माध्यममा काम गर्नुका साथै उद्घोषणमा पनि सक्रिय थिइन । सुरुमा मेयर पदमा उम्मेदवारी घोषणा गरेकी डंगोललाई एमालेले उपमेयरको उम्मेदवार बनाएपछि एमालेभित्रै असन्तुष्टि देखिएको छ ।

डंगोलले आधिकारीक रुपमा एमालेको सदस्यता नलिए पनि पाँच वर्षअघि महानगरमा विद्यासुन्दर शाक्यले विज्ञका रुपमा जागिर खुवाएका थिए । उनी महानगरपालिका अन्तर्गत शहरी योजना आयोगको सहायक विज्ञका रुपमा छैटौँ तहको अधिकृत स्तरमा नियुक्ति गरिएको थियो । उनले उक्त पदमा विज्ञ भएवापत महिनाको ८० हजार तलब खाए पनि काम भने नगरेको स्रोतको दावी छ । तर, डंगोल आफैले त्यति तलब नखाएको तर छैटौ तहको सरकारी कर्मचारीले पाउने जति मात्रै पारिश्रमिक पाएको दावी गर्दै आएकी छन् । एक वर्ष अघि उक्त जागिर पनि छाडेर उनी विभिन्न गैरसरकारी संस्था मिलेर अघि बढाएको एक परियोजनामा म्यानेजरको जागिर खान सुरु गरेकी थिइन ।