ललितपुर कांग्रेसका नेता ठगि धन्दामा, सरकारको पावर देखाउँदै स्थानीयसँग लाखौ असुल्दै

ललितपुर । नेपाली कांग्रेस ललितपुरका एक नेता ठगी धन्दामा लागेका छन् । विभिन्न प्रलोभन देखाउँदै स्थानीयबाट ठूलो रकम उठाएर उनी पार्टीको आवरणमा धम्क्याउँदै हिड्ने गरेका छन् ।

यसरी मानिसहरुलाई ठग्दै हिड्ने ललितपुर कांग्रेसका स्थानीय नेता सत्यमान घिसिङ हुन् । उनी नेपाली कांग्रेसको कोन्ज्योसोम गाउँपालिकाका उपसभापति हुन् । उनले कांग्रेसको राजनीतिक आवरणमा ललितपुरका विभिन्न ठाउँबाट धेरै मान्छेहरुलाई ठगेको प्रमाणहरु भेटिएका छन् ।

घिसिङले ठगेका मध्ये एक हुन– लतिलपुरकै चापागाउँ बस्ने दिपिका गोले । उनले गोलेबाट साढे दुई वर्षअघि विभिन्न प्रलोभन पारेर साढे तीनलाख रुपैयाँ लगेका थिए । जग्गा किन्नलाई पैसा नपुगेको र भोलिपल्टै पैसा फिर्ता गरिदिने भन्दै सापटी लगेका घिसिङले वर्षौ बित्दा पनि पैसा नदिएपछि गोले निकै तनावमा परेकी छन् । सुरुमा घरका सबै परिवारसँग राम्रो चिनजान र साइनो सम्बन्ध बनाएका घिसिङले अहिले पैसा फिर्ता माग्दा आफू कांग्रेसको नेता भएको, प्रहरी प्रशासन सबै आफ्नै हातमा भएको र सरकार समेत आफ्नै पार्टीको भएको भन्दै धम्की दिने गरेको गोलेको परिवार बताउँछन ।

सत्यमान घिसिङ सुरुमा दिपिका गोलेको दाइको साथी बनेर घरमा आएका थिए । उनले त्यसबेला घरपरिवार सबैसँग राम्रो चिनाजन गरे । कहिलेकाही घरमा समस्या पर्दा घिसिङले सानोतिनो सहयोग पनि गर्थे । उनको त्यसखालको व्यवहारले घरका सबैजना उनीमाथि भरोसा गर्न थाले । प्राय उनी आउँदाजाँदा दिपिकाकै घरमा खाना खाने गर्थे । त्यसरी उनले केही समय घरपरिवारलाई भ्रममा राख्न सफल भए । त्यसै क्रममा उनले दिपिका गोलेलाई निकै धेरै फाइदा हुने जग्गा किन्न थालेको र केही रकम नपुगेको भन्दै पैसा मागे । सुरुमा दिपिका गोलेले आफूसँग पैसा नभएको बताइन । तर, दिपिकाले कहिलेकाही आफूसँग भएको पैसा जम्मा गर्ने एक सहकारीमा केही पैसा राखेको थाहा पाएको बताएर सत्यमानले त्यही सहकारीबाट पैसा निकालेर आफूलाई दिन दिपिकालाई दबाब दिए । त्यसरी निकै दवाव दिए पछि आफूले त्यो कुरा आफ्नी आमालाई जानकारी गराएको बताउँछिन । त्यसपछि पनि घिसिङले आमा र छोरीलाई नै अनेक प्रलोभन देखाएर पैसा माग्न थाले । त्यति धेरै दवाव दिएपछि दिपिका गोलेले घिसिङलाई चापागाउँकै तिलेश्वर बहुउद्देश्यीय सहकारीमा पुगेर आफ्नै नाममा साढे तीनलाख रकम ऋण निकालेर दिइन ।

ऋण निकालेर पैसा दिएको भोलिपल्टदेखि घिसिङ भने सम्पर्क गर्न छाडे । केही समय आफू विजी भएको र पैसा फिर्ता छिट्टै दिने भन्न थाले । तर, केही समयपछि भने उनले अर्को एक जना महिलालाई दिपिकासँग कुराकानी गर्न लगाए । देवी गुरुङ नाम गरेकी महिलालाई लगाएर त्यो रकम छिट्टै तिरिदिने भन्न लगाए । अन्ततः देवी गुरुङ पनि एक दिन महानगरी प्रहरी वृत चापागाउँमा सत्यमानले आफूलाई ठूलो रकम ठगेको भन्दै निवेदन दिन गएको थाहा भयो । त्यसपछि दिपिकाले सत्यमानलाई खोज्न थालिन । तर, सत्यमानका नजिकका मान्छेहरुले उनलाई सत्यमान त्यस क्षेत्रको नामूद गुण्डा भएको, उसले धेरै मान्छेलाई कुटेको, ‘तह लगाएको’, हतियार लिएर हिड्ने गरेको भन्दै डराउन थाले । सत्यमानका पछि लागेमा ज्यानको समेत जोखिम हुने सक्ने भन्दै उनलाई तर्साउन पनि थाले । यसरी दिपिकालाई ठगेका सत्यमानले उनीजस्तै थुप्रैलाई ठगेका छन् । सुरुमा निकै राम्रो उद्धार सामाजिक कार्यकर्ता बनेर चिनजान गर्ने र पछि अनेक वाहानावाजी गरेर पैसा फुत्काएर उनले धेरैलाई ठग्ने गरेका छन् । उनीबाट ठगिनेहरुको ठूलो संख्या भएको दिपिका बताउँछिन् ।

हाम्रो संवाददाताले फोन सम्पर्क गर्दा सुरुमा फोन उठाएका सत्यमानले आफूले त्यो पैसा लगेको र छिट्टै फिर्ता गर्ने स्वीकार गरे । तर, पछि उनले फोन नै उठाउन छाडे ।

आफू ठगिएको थाहा पाएपछि दिपिकाले यो कुरा परिवारका केही अन्य सदस्यलाई जानकारी गराईन । त्यसपछि परिवारका अन्य सदस्यबाट पनि त्यसरी नै पैसा लगेको थाहा भएको दिपिका बताउँछिन । त्यसपछि उनी साँच्चिकै ठगिएको उनले थाहा पाइन् । घिसिङले यसरीनै गाउँका अन्य थुप्रै व्यक्तिहरुबाट पनि ठूलै पैसा उठाएको थाहा भएको दिपिका बताउछिन ।

सत्यमान अहिले नेपाली कांग्रेसका चुनावी अभियानमा जुटेका छन् । उनी कहिले नेपाली कांग्रेसका सांसद उदय समशेर राणासँग फोटो खिच्दै फेसबुकमा हाल्ने गरेका छन् भने कहिले पार्टीका विभिन्न कार्यक्रममा अतिथि बनेको फोटो हाल्ने गरेका छन् । कहिले विभिन्न सामाजिक काममा सहभागी भएको फोटो फेसबुकमा हाल्ने गरेका छन् ।

दिपिकाले आफू ठगिएको र उल्टै सत्यमानबाट डर, त्रास र धम्की खाएपछि आफ्नो ज्यानको असुरक्षा भएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी पनि दिएकी छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले उनको निवेदनलाई जिल्ला प्रहरी कार्यालय जावलाखेललाई बुझ्न पठाएको र जिप्रका जावलाखेलले चापागाउँ प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । चापागाउँ प्रहरीले उनलाई सम्पर्क गर्दा सत्यमान कहिले आफू चितवन भएको बताउँछन, कहिले हेटौडा भएको बताउँछन् । आफूले दिपिकासँग मिल्ने पनि बताउँछन । तर, उनी अहिलेसम्म न त प्रहरीको सम्पर्कमा आएका छन् न त दिपिकाको घरपरिवारसँग सम्पर्क गरेका छन् ।

राज्यको सुरक्षा निकायले नै यसरी खोज्दा पनि सत्यमान नआएको र उल्टै उनले उजुरी फिर्ता लिन धम्की दिन थालेपछि दिपिकाको परिवार निकै निरास बनेको छ । राजनीतिक आवरणमा सर्वसाधारणलाई ठग्दै हिडेका सत्यमामनलाई कारवाही गरिदिन उनले आग्रह पनि गरेकी छन् ।

Loading...