बैशाख १३.काठमाडौँ। गोरखाको मनकामनामा पुजा गरे मनको इछ्या पुरा हुने जनविश्वास रहनुका साथै यस बारे निकै रोचक आख्य पाइन्छ । मनकामना देवी राजा राम शाहकी रानी महिमावती ( लीलावती ) हुन् । एक समयको कुरा हो गोरखनाथले रानीको दैवीशक्तिसँग नजिक रही सेवा गर्ने योग्य पुजारीको खोजी गर्दै जाँदा हाल बकेश्वरी क्षेत्र ( मनकामना मन्दिरको दक्षिण आधा घण्टा उकालो ) मा वर्तमान पुजारीका पुर्खा लखन थापामगर घाँस काट्दै रहेछन् । गुरु गोरखनाथले लखनापार्क इच्छा अनुसार भ्याकुताको दूध , दही र खिर बनाइदिदा निसंकोच कपाकप खाइदिएछन् । त्यसबाट प्रभावित भई लखन थापालाई गुरु गोरखनाथले बक्रेश्वरीमा नै ध्यान , योग र तन्त्रमन्त्र सिकाएर रानीको रेखदेख गर्न गोर्खा दरबार पुऱ्याइदिएछन् । सिद्ध लखन थापा दरबार पुगेपछि नै रानी राति राति गायब हुन थालेकोमा शंका लागी राजा राम शाहले एक दिन चियो बस्दा गोर्खा दरबारदेखि माथि उपल्लो कोटमा रानीले दुईवटा सिंहको पहरासाथ साक्षात देवीको रूप लिने र सिद्ध लखन थापाले गुरु गोरखनाथसहित देवगणहरुको धार्मिकसभा गर्ने गरेको देखेछन् । राजाले स्त्रीमाथि शंका गरेको थाहा पाई देवीस्वरूप लीलावती रानीले भनिछन्- राजन , स्त्रीमाथि विश्वास गरी जहाँ जहाँ तिमीले पाइलो राख्थ्यौ त्यहाँ त्यहाँ तिम्रो राज्य हुने थियो , अब तिमीजस्ता शंकालुबाट होइन तिम्रो वंशजबाटमात्र नेपाल एकीकरण हुनेछ ‘ भनी चेतावनी दिएछन् । पश्चातापले ग्रस्त राजा राम शाहले न्यायिक शासन चलाएको हुँदा ‘ न्याय नपाए गोर्खा जानु ‘ भन्ने उखान छाड्न सफल त भए तर ७ पुस्तापछि राजा पृथ्वीनारायण शाहबाट मात्र नेपाल एकीकरण सफल हुन पुग्यो । न्यायिक शासन चलाउँदा चलाउँदै राजा राम शाहको देहान्त भयो । लासलाई दरौदी र मस्यांदीको दोभानमा दाहसंस्कार गर्न लाँदा भक्तसेवक लखन थापामगरले रानीलाई सती जानबाट रोके तर रानीले सेवक लखन थापालाई आफू कफ्याक डाँडामा शिलारूप लिई प्रकट हुने वचनबद्धता व्यक्त गरी सती गइन् । नभन्दै एक दिन हलो जोतिरहंदा एउटा ढुंगामा फाली अड्किदा दूध र रगत एकसाथ बग्न थालेछ । सोही ढुंगालाई मगर भाषामा कफयाक भनिएको र हालसम्म पनि सोहि ढुंगालाइ देवी मनकामनाको रुपमा पुजा गर्ने गरिन्छ ।
नेपाल मण्डल सम्पदा – बात