रंगहरुको पर्व होली, वसन्त ऋतुको आगमनसंगै फागुन शुक्ल अष्टमीका दिन आज बिहिबार विहान ७ बजेर २७ मिनेटको शुभसाइतमा बसन्तपुर गद्दी बैठक अगाडी ‘चीर’ ९ रंगी बिरंगी छत्र सहित विशेषरूपले सजाएको लिङ्गो ( चीर ) गाडिएको छ ।
३२ हात अग्लो बासमा मयलको हाँगा साथै विभिन्न रगका रङ्गी विरङ्गी कपडा राखेर ठडयाइएसँगै देशभर होली पर्व सुरु भएको मानिन्छ ।
गुहेश्वरी बनमा रहेको मयलको रुखको हाँगा काटेर यसलाई गुहेश्वरी मन्दिर र पशुपतिनाथलाई चढाइएको थियो । होली सुरु भएको भन्दै यसरी मयलको रुखको हाँगा चढाउने परम्परा रहेको छ । बाँकी रहेको हाँगा त्यहाँबाट हनुमानढोका ल्याएर मानन्धर समुदाय गुठिका प्रतिनिधि गुठियारबाट बिहानको ११:५७ को शुभ साइतमा परम्परा अनुसार चिर ठड्याइको छ ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने गरिन्छ । यस वर्ष पहाडी जिल्लाहरुमा चैत ३ गते र तराई–मधेसका जिल्लाहरुमा चैत ४ गते गते होली पर्व परेको छ । त्यो दिन सरकारले सार्बजनिक विदा दिएको छ । वसन्त ऋतुको आगमनका रुपमा नि यो पर्व मनाइने गरेको छ ।
फागु र चीरको यस्तो छ इतिहास
उपत्यकाको छुट्टै आख्यान अनुसार परापूर्व कालमा थ:बही हालको (ठमेल) निवासी प्रख्यात व्यापारी शिहसार्थ वाहु आफ्ना ७ सय व्यापारीहरुका साथ तिव्वतको ल्हासामा ब्यापार गरी फर्किने क्रममा ब्रम्हपुत्र नदी पार गर्न लाग्दा अतिसुन्दरी युवतीको भेषमा राक्षस्नीहरुले आफ्नो प्रेमजालमा फसाउछन् । राती एक एक गरी ती व्यापारीहरुलाई आहारा बनाई खाने याेजना बनाएका रहेछन् । तर, सिहसार्थ बाहुले यो कुरा थाहा पाई तान्त्रिक शक्तिले वायुपंखी घोडामा सवार भएर काठमाडौँ फर्केछन् । यही खुसीयालीमा प्रत्येक बर्ष बसन्तपुर कुमारी घर अगाडि चीर उठाई हर्षोल्लासपूर्वक सप्ताहव्यापी फागु खेल्ने परम्परा थालिएको इतिहास खोज कर्ता लेखक पदम श्रेष्ठले आफ्नो पुस्तक ”नेपाल जात्रा सस्कृतिमा” उल्लेख गरेको छ । लेखले उपत्यकामा मानिने यो पर्वलाई फागु पर्व मात्र भन्न सकिने र होलिकासँग कुनै सम्बन्ध नभएको बताएको छ ।