मरिससमाथि नेपालको लगातार दोस्रो जित

काठमाडौं । अफ्रिकी देश मरिससविरुद्ध नेपाली राष्ट्रिय फुटबल टिमले लगातार दोस्रो खेलमा पनि जित हात पारेको छ । मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले पाहुना टोली मरिससलाई आफ्नो भूमिमा १–० ले हरायो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा दुवै टिमले आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सफल भयो भने मरिसस पेनाल्टीमा चुक्दा ऊ लगातार दोस्रो खेलमा नेपालसँग पराजित हुन पुग्यो । यससँगै नेपालले मरिससविरुद्ध ‘क्लिनस्वीप’ गरेको छ ।

नेपालले पहिलोपटक अफ्रिकी देशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा दुवै खेलमा जित हात पार्न सफल भयो । यी दुवै खेललाई फिफाले अन्तर्राष्ट्रिय खेलको मान्यता दिएको थियो । फिफाको अन्तर्राष्ट्रिय क्लालेन्डर अनुसार यी खेल आयोजना गरिएकाले फिफाले यी दुवै खेललाई अन्तर्राष्ट्रिय खेलको मान्यता दिएको थियो, जसमा नेपालले दुवै खेलमा क्लिन सिट राख्दै जित्न सपल भयो । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले १–० को जित निकालेको थियो । सो खेलमा नेपालका लागि स्टार फरवार्ड विमल घर्ती मगरले विजयी गोल गरेका थिए ।

दोस्रो खेल भने निकै तनावग्रस्त बनेको थियो । पहिलो हाफको खेल सामान्य अवस्थामा सकिए पनि दोस्रो हाफ भने पूरै तनावग्रस्त जस्तै बन्यो । सुरुआतबाटै दुवै टिमले लगातार फउल खेल्दा दुई पक्षका खेलाडी बीच पटक–पटक झडप र हात हालाहालको स्थिति सिर्जना भएको थियो । सोही क्रममा दुवै तर्फबाट गरी ३ जना खेलाडीले रातो कार्ड पाए । जसमा पाहुना टोली मरिससका २ जना र नेपाली टोलीका एक जना खेलाडीले रातो कार्ड पाए । सबैले दोहोरो पहेंलो कार्ड पाएका हुन् । सोझै रातो कार्ड कसैले पनि पाएनन् ।

पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले आज दोस्रो खेलमा पनि राम्रो प्रदर्शन गरेको थियो । नेपालले निकै चाँडो १०औं मिनेटमै सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । नवीन गुरुङले प्रहार गरेको कर्नर किकलाई मरिससका गोलकिपर लोइक मिचेलले पन्च गरेर बाहिर फालेको बललाई आशीष लामाले गरेको प्रहारमा पुजन उपरकोटीको उत्कृष्ट ब्याक हिल पासमा सुजलले क्लोज रेन्जबाट उत्कृष्ट फाइनल टच दिँदै बललई जाली चुमाएका थिए । सुजलका लागि यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो ।

तर, गोल खाएको लगत्तै अर्को मिनेटमा मरिससले पेनाल्टी पाएको थियो । बक्सभित्र नेपाली डिफेन्डरले फउल गरेपछि पाएको पेनाल्टीमा रेफ्रीले मरिससलाई पेनाल्टीको मौका दिएका थिए । तर, मरिससका कप्तान एन्डी सोफीले हानेको पेनाल्टी नेपालका अनुभवी गोलकिपर किरण कुमार चेम्जोङले उत्कृष्ट बचाउ गरेपछि नेपालको अग्रता बच्यो । मरिससले पहिलो हाफमा आक्रामक खेल खेल्दै १४ पटक सट हान्दा ८ सट अन राखे पनि गोल भने गर्न सकेन । गोलकिपर किरणले पटक–पटक मरिससका प्रहारलाई विफल पारिदिएका थिए ।

दोस्रो हाफमा मरिससले ज्यादा आक्रामक खेल खेलेको थियो । ६७औं मिनेटमा कप्तान एन्डे सोफीको खतरनाक सट नेपालका गोलकिपर किरणले शानदार पन्च गरेर बचाएका थिए । दोस्रो हाफमा मरिससले बनाएको सबैभन्दा राम्रो गोलको अवसर नै त्यही थियो । तर, दोस्रो हाफमा मरिससले गोल निकाल्न सकेन । र, नेपालले १०औं मिनेटमा गरेको सोही अग्रता बचाएर खेल १–० ले जित्यो । नेपालले दुवै खेल समान १–० को अन्तरमा जितेको हो ।

दोस्रो हाफको खेल निकै तनावपूर्ण बनेको थियो । खेलको ७१औं मिनेटमा दुवै टिम १० खेलाडीमा डाउन भएको थिए । नेपालका पुजन उपरकोटी र मरिससका एड्रिएन बोट्लर दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड खाएर मैदान छाडेका थिए । त्यसैगरी, नेपालमा सहायक प्रशिक्षक विकास मल्ललाई पनि रेफ्री नवीन्द्र महर्जनले रातो कार्ड दिएका थिए । सो क्षणपछि खेल थप तनावमय बनेको थियो । दुवै पक्षका खेलाडी र अफिसियल मैदान नै प्रवेश गरेर रेफ्रीसँग विवाद गरेका थिए । केहीबेर खेल समेत प्रभावित बनेको थियो ।

त्यसपछि खेलको ७९औं मिनेटमा पाहुना टोली मरिससका थप एक खेलाडीले रातो कार्ड पाएपछि ऊ ९ खेलाडीमा डाउन भयो । नेपाली खेलाडी गौतम श्रेष्ठमाथि खराब ट्याकल गरेपछि रेफ्रीले इमानुएल फुलचुन्डलाई दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड दिएर मैदानबाट निकालेका थिए । ९ खेलाडीमा झरेपछि मरिसकका खेलाडी झन् आक्रामक बनेका थिए । त्यस दौरान दुई पक्षका खेलाडीबीच पटक–पटक तनाव सिर्जना भएको थियो । तर, दुवै तर्फबाट गोल हुन नसक्दा खेल नेपालले १–० ले जित्यो ।

खेलको १००औं मिनेटमा अन्जन विष्टले राम्रो अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा नेपाल दोस्रो गोल गर्नबाट चुकेको थियो । मरिससले १०४औं मिनेटमा हानेको सट नेपाली गोलकिपर किरणले उत्कृष्ट बचाउ गरेका थिए । आजको खेलमा मैदानमा पर्याप्त लाइट नहुँदा करिब ८ मिनेटसम्म स्थगित भएको थियो । खेलमा ८ मिनेटको इन्जुरी समय थप भए पनि खेल १०८औं मिनेटसम्म चलेको थियो । प्राविधिक समस्याका कारण पनि खेल केही लम्बिएको थियो ।

आज भएको दोस्रो खेलको म्यान अफ् द म्याच गोलकिपर किरण घोषित भएका थिए । उनले म्यान अफ् द म्याच अवार्ड र ५० हजार नगद पुरस्कार समेत पाए । यससँगै मरिससँगका दुवै खेल सकिएका छन् । मरिसस फिफा वरीयतामा १७२औं स्थानमा रहेको टिम हो भने नेपाल १६९औं स्थानमा छ । आफूभन्दा तीन स्थान तल रहेको मरिससविरुद्ध नेपालले ब्याक टु ब्याक दुवै खेल जितेर राम्रो अनुभव संगाल्यो, त्यो पनि आफ्नो भूमिमा ।

Loading...