रुकुम, १७ मंसिर । रुकुम पश्चिमको सानीभेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सानीभेरी गाउँपालिका–१० का ६६ वर्षीय टीकाराम ओलीको सानीभेरी नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।
नदीमा माछा मार्नेक्रममा उनलाई आज बिहान करिब ९ः३० बजेतिर नदीले बगाउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नदीमा माछा मार्ने क्रममा चिप्लिएर बगेको हुनसक्ने प्रहरीको अनुमान छ ।
सानीभेरी–८ को स्थानीय छोटेबगरबाट बगेका ओली करिब ६०० मिटर तल मृत अवस्थामा फेला परेको उहाँका छोरा नन्दराम ओलीले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।