गद्दी बैठक अब सर्वसाधारणका लागि खुला गरिने

पुष २०,काठमाडौँ। काठमाडौँको पुरातात्विक दरवार क्षेत्रमा रहेको गद्दी बैठक सर्व सधरणका लागि खुल्ला हुने भएको छ। यसअधि राज्यका विशिष्ट पदाधिकारीलाई मात्र विशेष अवसरमा प्रवेश दिँइदै आएको गद्दी बैठक २०७२ सालको भूकम्प पछी मर्मत सर्वसाधारणका लागि यसै महिनामा खुला गरिने भएको हो। गद्दी बैठक खुल्ला गरिए सँगै ऐतिहासिक हतियारको समेत अवलोकन गर्न पाइने भएको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक झण्डै सात वर्षपछि पुनः प्रदर्शनीमा ल्याइने भएको छ । २०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा बन्दबाकसभित्र राखिएका ती हतियारलाई गद्दी बैठकमा देख्न पाइने भएको छ ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार पृथ्वीनारायण शाहको निजी बन्दुकका साथै त्यसबेला लुटिएका र नेपालमा बनेका केही हतियार प्रदर्शनीमा राखिने भएको छ।
भूकम्पले नासलचोकस्थित पश्चिमतर्फको सेतो दरबारलाई नराम्ररी क्षति गरेपछि त्यहाँ रहेका पृथ्वीनारायण शाह र त्रिभुवनले प्रयोग गरेका सामग्रीलगायतलाई दरबारभित्रको नागपोखरीनजिकै प्रिफ्याबको टहरामा बन्द गरी राखिएको छ । गद्दी बैठकमा एकीकरण अभियानदेखि गणतन्त्र स्थापना हुँदासम्मका राजनीतिक घटनाक्रमलाई सिलसिलाबद्ध प्रदर्शन गरिनेछ । सोही क्रममा पृथ्वीनारायण शाहसँग जोडिएका सामग्री पनि त्यहाँ राख्न प्रिफ्याबको टहराबाट झिकिएको छ । प्रदर्शनी कक्ष तयार गर्न खटिनुभएकी प्राविधिक (वास्तुविद्) एनी जोशीले हाललाई पुराना केही हतियार र सङ्गीनमात्र प्रदर्शनीमा राखिने जानकारी दिँदै सन्धिपत्र, दस्तावेज, तस्बिरलगायत पनि राखिने बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गर्न लगाएको बेलायती शैलीको गद्दी बैठक भूकम्पले क्षतिग्रस्त भएपछि अमेरिकी एम्बेसडर फन्डको आर्थिक सहयोगमा मियामोतो नामक संस्थाले पुनर्निर्माण गरिदिएको हो ।

गद्दी बैठकको भुइँतलालाई चार खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा एकीकरण अभियानसँग जोडिएका प्रसङ्गलाई समावेश गरिनेछ । दोस्रो खण्डमा राजनीतिक घटनाक्रमसम्बन्धी भिडियो प्रदर्शन गरिनेछ । तेस्रो खण्डमा सुगौली सन्धिदेखि राणाकाल, प्रजातन्त्र र पञ्चायतसम्मका मुख्य राजनीतिक घटनाबारेमा सामग्री हेर्न पाइनेछ भने चौथो खण्डमा दुईवटै जनआन्दोलन, जनयुद्ध र गणतान्त्रिक मुलुकको संविधान जारी भएको मितिसम्मका सामग्री राखिने भएको छ ।

Loading...