गगन र विश्वप्रकाश महामन्त्रीमा निर्वाचित, कांग्रेस भित्रको बेथिति हटाउने गगन थापाको अठोट

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत महामन्त्री पदको गणनामा थापा र शर्मा विजयी भएका हुन् ।

थापा सर्वाधिक मत ३०२३ सहित महामन्त्री चुनिँदा शर्मा दोस्रो धेरै मत १९८४ ल्याएर विजयी भएका हुन् । महामन्त्री पदका लागि थापा र शर्मासँगै डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल र राजाराम कार्की चुनावी मैदानमा उत्रिएका थिए ।

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले पार्टी भित्रको बेतिथि हटाउन आफ्नो महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । महामन्त्रीमा विजयी भएपछि पार्टी कार्यालय सानेपामा संक्षिप्त सम्बोधन गर्दै उनले महाधिवेशन व्यवस्थित तरिकाले भए पनि पार्टी सञ्चालनमा बेतिथि रहेको बताए ।

उनले पार्टीलाई विधि र विधानसम्मत सञ्चालन गर्नका लागि आफूले भूमिका खेल्ने बताए । उनले पार्टीमा विधि र विधानबाट नचली व्यक्तिको वर्चस्व कायम गर्ने परम्परा रहेको भन्दै त्यसलाई भत्काइने बताए । उनले कांग्रेस सबैभन्दा व्यवस्थित पार्टी भए पनि आन्तरिक लोकतन्त्रका विषयमा प्रश्न उठ्ने गरेको भन्दै अब प्रश्न नउठ्ने गरी काम गर्ने प्रतिवद्धता जनाए ।

थापा अघि सम्बोधनका गरेका महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माले कांग्रेसलाई सबै किसिमका फूलको फूलबारी बनाउने बताए । उनले आफूलाई विभिन्न विचार समूहमा रहेका मतदाताले विजयी गराएको भन्दै मतदाताको मनोविज्ञानअनुसार सबैको पार्टी बनाउन आफ्नो भूमिका रहने बताए । शर्मा प्रकाशमान सिंहको कमजोर प्यालनबाट उम्मेदवार बनेका थिए भने थापा डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका थिए ।

सभापतिमा विजयी शेरबहादुर देउवाको प्यानलमा रहेका प्रकाशसरण महत र प्रदीप पौडेल दुबै जना पराजित भएका छन् ।

Loading...