महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाटै राजिनामा दिए मिनेन्द्रले

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाटै राजिनामा दिएका छन् । डा. रिजाल डा. शेखर कोइराला प्यानलमा रहेर महामन्त्री पदमा उम्मेदवार भएका थिए ।

रक्षामन्त्री रहेका रिजालले पार्टीभित्र आफ्नो अवस्थाबारे अवगत भएको भन्दै विहीबार रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्रीलाई एक पत्र लेख्दै पार्टीमा आफ्नो अवस्था संकुचनमा रहेको थाहा पाएको बताएका छन् । उनले त्यस्तो अवस्था थाहा पाउँदा पाउँदै पदमा बसिरहन नैतिकताले नदिने भएकोले पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् । डा. रिजालले राजीनामा दिएपछि पत्रकार सम्मेलन समेत गरेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै रिजालले आफूले मन्त्री पदबाट भावावेशमा राजीनामा नदिएको बताए । उनले महामन्त्रीको उम्मेदवार बन्दै गर्दा यही गर्छु भनेर मनमा सोचिसकेको बताए । आफ्नो निर्णयबारे पार्टीका नेताहरुसँग छलफल नगरेको तर आफ्नी श्रीमतीसँग भने छलफल गरेको उनले पत्रकार सम्मेलनमा बताए ।

आफू ६५ वर्ष पुगिसकेको भन्दै उनले आगामी दिनको योजना सोचेर बनाउने बताए । उनको यो भनाइपछि पत्रकारहरुले राजनीति नै छाड्न लागेको हो ? भनेर प्रश्न गरेका थिए । रिजालले अहिले निर्णय गरिनसकेको तर त्यस्तो सम्भावना छैन भन्ने नभएको बताए । उनले सक्रिय राजनीति छाड्ने संकेत भने गरे।

 

Loading...