सन्दीप लामिछाने नयाँ कप्तान नियुक्त, ज्ञानेन्द्रसहित ४ खेलाडीमाथि कारबाही

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली पुरुष क्रिकेट टिमका ४ जना वरिष्ठ खेलाडीमाथि कारबाही गरेको छ । क्यानसँगको सेन्ट्रल कन्ट्र्याक्ट विवादमा मुछिएका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, फास्टबलर सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले कारबाही गरेको छ ।

क्यानको बोर्ड बैठकले बुधबार उनीहरु ४ जनालाई २०२२ को पहिलो ६ महिना सेन्ट्रल कन्ट्र्याक्टबाट निलम्बन गर्ने निर्णय गरेको छ । क्यानले मल्ल र ऐरीलाई कप्तान र उपकप्तानबाट बर्खास्तसमेत गरेको छ ।

स्पीनर सन्दीप लामिछानेलाई नेपाली टिमको नयाँ कप्तान बनाइएको छ । सन्दी हाल बिग बास लिग खेल्न अष्ट्रेलियामा छन् । क्यानले यही डिसेम्बर २१ देखि पोखरामा राष्ट्रिय टिमको बन्द प्रशिक्षण गर्ने निर्णयसमेत गरेको छ ।

यसरी क्यानले नेपाली खेलाडीमाथि अनुसाशनको कारबाही गरेको यो पहिलो घटना हो ।

Loading...